यहाँको एक विकट गाउँमा सञ्चालन भएको एक निःशुल्क स्वास्थ्य शिविरमा चार सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
पर्वतको राम्जादेउराली गाविसस्थित पशुपति उच्च माध्यमिक विद्यालयमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
राम्जा पोखरा सम्पर्क समाज, लायन्स क्लब अफ पोखरा टुरिजम सिटी र नेपाल चिकित्सक सङ्घ गण्डकीको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा पर्वत जिल्लाका राम्जादेउराली, चित्रे र पकुवाका चार सय १५ बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य शिविरमा बालरोग, जनरल फिजिसियन, स्त्रीरोग, मानसिक रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग, उच्च रक्तचाप तथा मधुमेहका बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा पोखराबाट नौ जना चिकित्सकको टोली राम्जा आएको थियो ।
मानसिक रोग विशेषज्ञ डा राजन शर्मा नेतृत्वको चिकित्सकको टोलीमा डा राजन बस्नेत, डा आदेश थापा, डा आशिष आचार्य, डा मेगा देव, डा अमृत घिमिरे, डा. अनु शेरचन, डा. विद्याभूषण ताम्राकार, डा. गणेश थापालगायतका स्वास्थ्य चिकित्सक सहभागी थिए । स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गरेका सबै बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
राम्जापोखरा समाजले स्थानीयस्तरमा स्वास्थ्य परीक्षणको व्यवस्था गरेको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । स्वास्थ्य परीक्षणका लागि आएका हरिप्रसाद गौतमले आफ्नै आँगनमा डाक्टरहरुबाट सेवा लिन पाउँदा खुसी लागेको बताए उनले भने – “हाम्रै आँगनबाट डाक्टरको सेवा लिन पाउनु गौरवको कुरा हो ।” रासस