नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे विभिन्न ढंगले विश्लेषण भइरहेका छन् । राजनीतिक आस्थानुसार लेखक, विश्लेषक, पत्रकारहरुले तर्क–वितर्कहरु गर्दै कसैले बचाउ गरिरहेका छन्, कसैले दोषी करार गरिरहेका छन् । यसको अर्थ कसैले स्वतन्त्र विश्लेषण गरिरहेका छैनन् भन्ने होइन, त्यो प्रयास पनि धेरथोर भइरहेकै छ । यो पंक्तिकार पनि आफ्नो मत लेखिरहेको छ । तर, अलमलमा छ । ‘जुनसुकै जोगी आए पनि कानै चिरेका’ भन्ने लोकोक्ति चरितार्थ भइरहेकाले अलमलमा छ– कसको पक्ष लिनु र कसको विरोध गर्नु ! राजनीतिक वृत्तमा देखिएका निराशा सामाजिक सञ्जालमा पोखिँदैछन् ।
आखिर दोष कसको ? नेपालमा ठूलठूला क्रान्ति र आन्दोलन हुन्छन् तर तिनको परिणाम जोगाउन सकिन्न किन ? जनताका लागि गर्छौं भनिए पनि किन व्यवहारमा त्यसो हुन सक्दैन ? संक्रमणकाल किन लम्बिइरहेको छ ? के दल र नेताहरु मात्रै दोषी हुन् ? कसको प्रवृत्ति कस्तो ? को राष्ट्रवादी अनि को राष्ट्रघाती ? तमाम् जिज्ञासा र उत्तर समेत थरीथरीका छन्, सामाजिक सञ्जालमा ।
प्रश्न उठ्छ, पछिल्ला परिघटनाहरुमा हामी जनताको चाहिँ दोष कति ? कसै–कसैले यसको पनि उत्तर खोजिरहेका छन् । मलाई पनि यसै विषयमा केही भन्न मन लागिरहेको छ ।
यथार्थ हेरौं– २००७ सालमा प्रजातन्त्र आयो, स्वागतमा ताली पड्कायौं । २०१७ सालमा पञ्चायत आयो, त्यसको स्वागतमा पनि दियोबत्ती बाल्यौं । २०३७ सालमा जनमतसंग्रहको परिणाम आयो, त्यसमा पनि खुशी मनायौं, गुणगान गायौं । अहिलेका नेताहरुमध्येका कतिपयले त पञ्चायतको सत्ताभोग पनि मज्जैले गरे । २०४७ सालमा प्रजातन्त्रको पुनर्बहालीका निम्ति भएको आन्दोलनमा फेरि ज्यान हत्केलामा राखेर आन्दोलनको मोर्चामा होमियौं । आन्दोलन सफल भयो, दिपावली मनायौं । अनि २०५२ सालमा देशमा गृहयुद्ध सुरु भयो, त्यसमा पनि मृत्यु स्वीकारेर रणमैदानमा होमियाैं । हजारौंको ज्यान लियाैं अनि दियौं ।
२०५८ माघ १९ को दरबार हत्याकाण्डपछि बनेका राजा ज्ञानेन्द्रलाई भगवानको औतारै ठान्यौं र वर्षौसम्म उनैको गुणगान गायौं । सक्नेले मोज गर्यौं, नसक्नेले सहजतापूर्वक लियौं । अनि २०६२–६३ को आन्दोलनमा फेरि त्यही राजतन्त्रको दाहसंस्कारका लागि सडकमा कुर्लियौं । इतिहासले भन्छ, हामी जनता राम्रो हुँदा होस् या नराम्रो, दुवै अवस्थामा दिलोज्यान दिएर लाग्यौं । आखिर किन ? अहिलेकै धेरै नेताहरुले यी सबै घटनाहरुमा जनतालाई उक्साए । हामी सहजै उक्सियौं । उनीहरुको अभिष्ट पूरा गर्यौं तर हाम्रो अभिष्ट पूरा गर्नेतर्फ कहिल्यै सोचेनौं ।
थुप्रै सरकार फेरिए । आन्दोलनमा होमिएपछिको बदलास्वरुप अधिकांशले सत्ताभोग गरे, अर्थोपार्जन गरे । घर नहुनेले महल जोडे, साइकल नहुनेले पजेरो किने, सिंहदरबार नदेखेकाले त्यहीं अड्डा जमाए । दुब्लाहरु मोटा भए । फोहोरीहरु सुकिला–मुकिला भए । दुईछाक खान नपाउनेहरु सुनको पलङमा सुत्ने हैसियतमा पुगे । यस्तै–यस्तै धेरै भए ‘परिवर्तन’ ।
हामीले ७ दशकभन्दा लामो सयम राजनीतिक अकर्मण्यतामै बिताइसकेका छौं । ००७ सालमा जन्मिएका कतिपय युवाले देह त्यागिसके । ०३६ सालमा जन्मिएको नागरिकले अधिकांश ऊर्जा हत्या–हिंसा, काटमार, आन्दोलन, बन्द–हड्ताल र राजनीतिक परिवर्तनकै नाममा गुजारिसकेको छ । ०४६ सालमा जन्मेको युवाले आन्दोलनकै बीचमा आफ्नो उमेर घटाइरहेको छ । ०६२ सालको आन्दोलनमा जन्मिएको बालकले ०७३ सालसम्म आइपुग्दा न निर्धक्क स्कुल जान पाएको छ, न सँगै बसेर बेरोजगार आमाबुबाले आफ्नो सुन्दर भविष्य निर्माणका सपना–योजना बुनेको सुन्न पाएको छ ।
विकास र शान्ति भएपछि देश फिरौंला भनेर २०६२–६३ ताका खाडी गएको युवा वर्षौं बित्दा पनि नेपाल आउने बहाना पाइरहेको छैन । बजार हिँडेकी छोरी सुरक्षित रुपमा घर आउँछ कि आउन्न भन्ने चिन्ता अहिले पनि कायमै छ । आमाको उध्रेको चोली फेर्न, श्रीमतीको पेटभरि खाने सपना साकार पार्न परदेश हिँडेको युवाको लास दिनहुँ ‘कफिन’ मा प्याक भएर आइरहेको छ । घर–छिमेकको उद्योग सञ्चालन भएमा काम पाउँला भनेर बसेका जनता उल्टै बन्द भएको जीर्ण भवन हेर्न बाध्य छन् । लोकतन्त्र, गणतन्त्र आएपछि आफ्ना सन्तानलाई पनि सजिलै डक्टर, इन्जिनियर बनाउँला भनेर सोचेको परिवारका सपना महँगीले किचिरहेको छ ।
यी तमाम निराशा र यथार्थलाई बेवास्ता गर्दै फेरि पनि हामी सत्तास्वार्थकै लागि राजनीतिक इमान गुमाइरहेकाहरुलाई नै साथ दिन पक्ष–विपक्षमा विभक्त छौं । कहिल्यै हामीले राजनीतिक आस्थाभन्दा माथि उठेर राजनीतिक संस्कार र वैधता गुमाइरहेका नेताहरुविरुद्ध खबरदारीका निम्ति सडक तताएका छौं ? नागरिक अधिकारका लागि पटक–पटक अनसन बसेर मृत्यु स्वीकारिसकेका गोविन्द केसीजस्ता जनताहरुका लागि स्वतस्फूर्त आवाज उठाएका छौं ? हामीले ल्याइदिएको परिवर्तनमा धेरै सुकिला–मुकिला भए तर कहिल्यै हामीले आफ्नै लागि आवाज उठाएका छौं ? उठाएका छौं त केवल निर्देशन पालना गर्न र चाकरी स्वीकार्न ।
जसलाई ठूला बनायौं उनीहरुमध्ये क–कसका छोरा तपाईं–हामी पढ्ने बाजुरा, अछाम, डडेल्धुरा, झापा, मोरङ, सुनसरी, सप्तरी, बाँके, बर्दिया, दाङ र प्युटानको चुहिने छानोमा बसेर पढेका छन् ? परिवर्तन चाहियो भनेर नेपालगञ्जको सेतु विक चोकमा वा काठमाडौंको माइतीघर मण्डलामा कतिका छोराछोरीले रगत बगाएका छन् ? बन्द चिनीमिल चल्नुपर्छ भनेर होस्, पश्चिम सेती समयमै बन्नुपर्छ भनेर वा मेलम्चीको पानी समयमै काठमाडौं आउनुपर्छ भनेर या कर्णालीमा बिजुली चाहियो, कालीगण्डकीको त्रास रोक्नुपर्यो, सीमा मिच्न दिनुहुन्न भन्ने सवालमा कतिले आन्दोलन स्वीकारेका छौं ? कतिले ज्यान दिएका छौं ?
हो, हामी नेताहरुको निर्देशन पर्खिरहेका छौं । तर, हामीले ल्याइदिएको परिर्वतन संस्थागत गर्ने आवश्यकता नेताहरुले कहिल्यै महशुस गर्दैनन् । हामीले खुनपसिना बगाएको गुन तिर्ने आवश्यकताबोध कहिल्यै गर्दैनन् । हामी त केवल हनुमान, हामी त केवल ठिङग्रिङ्ग उभिइरहेको रोबटजस्तो भएर आदेश मानिरहेका छौं ।
नेपालले थुप्रै पटक सत्ताकै लागि आफ्नो गौरवपूर्ण इतिहासमा ठूलठूला क्षति व्यहोर्दै आएको छ । यहाँ भएका ठूलठूला क्रान्तिहरु सत्ताकै खातिर भएका छन् । फरक यत्ति हो, कहिले ती क्रान्ति सत्ता टिकाउनका लागि त कहिले सत्ता फाल्नका लागि भएका छन् । १९०० आसपासमा भएका कोतपर्व र भण्डारखालपर्व होऊन् या त्यसभन्दा अघि–पछि भएका तमाम घृणित दुर्घटनाहरु सत्ताकै लागि भए । आफ्नै बाउलाई ‘पागल’ घोषित गरी सत्या हत्याउने प्रताप मल्ल हुन् या रोलक्रममा रहेका राणाजी हुन् वा शाहकालीन राजा–सबैले वंशविनास, हत्या, धोकाधडी केवल सत्ता र शक्तिकै लागि गरे । विशेषतः जनसर्वोच्चता, न्यायिक स्वतन्त्रता, विधिको शासन, जहानिया तानाशाही व्यवस्थाको अन्त्य एवं राष्ट्रिय स्वाधीनताका लागि भएका जनआन्दोलन २००७, २०४७ र २०६२–६३ लाई नेपाली राजनीतिका महत्वपूर्ण परिघटनाका रुपमा हेरिएको छ । यी सबै राजनीतिक व्यवस्था र शासनसत्ता परिवर्तनकै लागि भएका थिए । ती सबै परिघटनाहरुको परिणाम पवित्र थियो भन्न सकिन्न । तर, पछिल्लो पटक भएका महान राजनीतिक आन्दोलनकै बलमा स्थापित सुन्दर, शान्त नेपालमा आज हामी स्वतन्त्रताको सास फेरिरहेका छौं ।
विभिन्न कालखण्डमा भएका थुप्रै त्याग, तपस्या र बलिदानबाट नेपालको इतिहास बनेको छ । अहिले हामी तमाम योद्धाहरुको बलिदान एवं खुनपसिनाले निर्माण गरेको त्यही अटल, अविचलित, स्वतन्त्र र स्वाभिमानी इतिहासको ब्याज खाइरहेका छौं । निर्लज्ज बाँचिरहेका छौं । इतिहासले अधूरै छाडेका सपनाहरु सकार पार्नु त कता हो कता, विगतका वीरताका गाथा रटान गरेर कायरता ओकेलिरहेका छौं । गौरवपूर्ण इतिहासमाथि नांगो नाच नाचिरहेका छौं । शान्त, स्वाभिमानी र अविचलित इतिहासलाई आडम्बरी राजनीतिमा सौदावाजीको विषय बनाइरहेका छौं ।
हामीलाई इतिहासले थुप्रै पाठ सिकाइसकेको छ । तर, हामी इतिहासको यथार्थतालाई निर्ममतापूर्वक कुल्चिरहेका छौं । २००७ सालमा बिजारोपण भएको प्रजातन्त्र अंकुरित हुन नपाउँदै २०१७ सालमा खोसियो । २०३६ सालको साहसिक आन्दोलनलाई २०३७ सालको जनमतसंग्रहले बलात्कार गरिदियो । २०४६–४७ सालमा पुनर्बहाली भएको प्रजातन्त्र फेरि २०५९ माघ १९ मा अपहरित भयो । र, फेरि २०६२–६३ सालको महान जनआन्दोलनमार्फत गणतन्त्रको जन्म भएको छ । अहिले त्यही गणतन्त्रको गर्भमा समावेशी, समानुपातिक प्रतिनिधित्व, संघीयता, धर्मनिरपेक्षताजस्ता बहुआयामिक महत्वका विषयहरुले जन्म लिइरहेका छन् ।
इतिहासले सिकाएका पाठहरुलाई नजरअन्दाज गरेकै कारण देशले पटक–पटक समस्या भोगिरहेको छ । असार अन्तिम सातादेखि नेपाली राजनीतिक आकाशमा मडारिइरहेको कालो बादलले फेरि हामीलाई अर्को भूलको सम्मुखमा उभ्याएको आभाष भइरहेछ । साउन ६ गतेदेखि संसदमा सुरु भएको तिक्तता र दलहरुका बहस एवं प्रस्तुतिले त इतिहासका गल्तीहरु दोहोरिने खतरालाई जलमल गरिरहेको छ ।
जिम्मेवार नेताहरुका गैरजिम्मेवार अभिव्यक्तिहरुले करिव सात दशकको अनवरत प्रयास र प्रतीक्षापछि संविधानसभामार्फत जारी गरिएको संविधान र त्यसको गर्भमा अंकुराइरहेको सुन्दर नेपालको भ्रुणलाई हामी सत्ताको सौदावाजीमा निर्ममतापूर्वक तुहाउने, निमोठ्ने प्रयासमा उद्धत रहेका पो छौं कि भन्ने छनक मिलिरहेको छ ।
इतिहास साक्षी छ, नागरिक अधिकार, राष्ट्रिय स्वाधीनता, शान्त, समृद्ध र स्वाभिमानी राष्ट्र निर्माणको अभियानमा लागेका राजनीतिक दलहरुकै साहसले गर्दा नै १ सय ४ वर्षिय जहानिया राणा शासन, २ सय ४० वर्षसम्म जरा गाडेर बसेको निरंकुश राजतन्त्रको अन्त्य गर्न सफल भएका हौं । र, दलहरुले सामान्य विवेक गुमाएकै कारण इतिहासमा ठूलो क्षति व्यहोर्नुपरेका उदाहरण पनि ताजै छन् । दलहरुको सामान्य कमजोरीकै कारण अहिले पनि जनताको विकास र समृद्धिको चाहना अवरुद्ध छ । शान्तिको चाहना निसास्सिएको छ । राष्ट्रियता र स्वाभिमान संकटमा छ । संक्रमणकाल लम्बिइरहेको छ । राज्यव्यवस्था लथालिंग छ ।
एउटा नागरिक भएकाले म आफैंलाई दोषी करार गर्छु किनकि मैले राम्रा–नराम्रा दुवैका लागि समान त्याग गरेको छु । मैले प्रथम डिभिजनमा उत्तीर्ण सन्तानलाई कहिल्यै नेता होऊ भनिनँ । द्वितीय श्रेणीमा उत्तीर्णलाई पनि सकेसम्म साइन्स पढ्न उत्प्रेरित गरें । कतिलाई अंग्रेजी पढाएर पहिलो विश्वमा पठाइसकें, पठाउने योजना बनाइरहेको छु । मुस्किलले पास भएको छोरालाई देश बदल्न लागेको रामेका पछि लाग् भनेर अर्ती दिइरहेको छु । जबर्जस्त नेता बन् भनेर उत्प्रेरणा थपिरहेको छु । मैले चुनावमा कहिल्यै क्षमता र विवेक हेरिनँ । दुई–चार पैसा खर्च गर्न सक्ने, भट्टीमा बसेर रक्सीसँग कुखुरा र खसीका साँप्रा, हुँदा–हुँदा राँगा र भैंसीका तिघ्रा चपाउन खर्च गर्ने गाउँका पटमूर्ख चंखेलाई नेता बनाउन दिलोज्यान दिएँ । अनि आज उसले अमृत ओकलोस्, नेपाललाई सुन्दर बनाओस्, आर्थिक विकासका योजना बनाओस् र कार्यान्वन गर्न लागोस् भनेर अपेक्षा गरिरहेको छु । अनि म पक्का मूर्ख नभएर के ? अहिलेका परिणामको दोषी म आफैं नभएर को त ? तर, तपाईं नेपाली जनता मजस्तै हुनुहुन्छ भनेर दावी गर्दिनँ ।