newskoseli.Com

युवा जनस्वयंसेवक र नेपाली युवाबारे एक विश्लेषण

कम्युनिस्ट युवकहरु र अन्य जनसुकै युवकहरुको हकमा गर्नुपर्ने एउटै कार्य हो– सिक्नु ।     –लेनिन ।

आरम्भ

राष्ट्रिय युवा जनस्वयंसेवक हाम्रो पार्टी नेकपा माओवादीको सहायक संगठन हो । हरेक पार्टीले आफ्नो वर्गाधार र उद्देश्यअनुरुप युवा संगठनहरु निर्माण गरेका हुन्छन् । हाम्रो पार्टीले पनि सोहीअनुरुप नै राष्ट्रिय युवा जनस्वयंसेवकको निर्माण गरेको छ । यो संगठनको उद्देश्य हाम्रो पार्टीको जनवादी क्रान्ति गर्ने उद्देश्यसँग अभिन्न रुपले जोडिएको छ ।

यो अन्य पार्टीको जस्तो सामान्य कार्यदिशालाई सहयोग गर्ने स्थिर वा अस्थिर प्रकृतिको मात्रै नभई संघर्षको प्रकृति र आवश्यकताअनुरुप रुपान्तरित हुने संगठन हो । जस्तो कि २०५२ फागुन १ गते पार्टी जनयुद्धमा जानुपूर्व यो संगठन वाईसीएलका रुपमा थियो, जो पछि जनयुद्घकालमा जनमिलिसिया हुँदै जनमुक्ति सेनामा रुपान्तरित भयो । जब पार्टी फेरि युद्धबाट खुला राजनीतिक परिवेशमा आयो तब फेरि एक हिस्सा क्यानटोनमेन्टमा पीएलएका रुपमा बस्यो भने अर्को एक हिस्सा वाईसीएलका रुपमा जनतामा आयो । पार्टीको एक हिस्साले क्रान्तिको परित्याग र जनमुक्ति सेनाको विर्सजन गरेपछि पूर्वजनमुक्ति सेना र वाईसीएलमा रहेका युवाहरु नै क्रान्तिको बदलिँदो परिवेशअनुरुप अहिले राष्ट्रिय युवा जनस्वयंसेवकमा संगठित भएका छन् ।

हो यही भूमिकाअन्तर्गत अहिले राष्ट्रिय युवा जनस्वयंसेवक जनता र युवाको बीचमा लोकप्रिय र स्थापित हुँदै गएको छ । यदि पार्टी र क्रान्ति एकीकृत जनक्रान्तिको कार्यदिशाअनुरुप नयाँ चरणमा प्रवेश गरे भने यसको भूमिका पनि सोहीअनुरुप बदलिनेछ । अर्थात्, एकीकृत जनक्रान्ति संघर्षको अर्को प्रक्रियामा प्रवेश गर्यो भने स्वाभाविकरुपले राष्ट्रिय युवा जनस्वयंसेवक जनमुक्ति सेना वा राष्ट्रिय मुक्ति सेनामा रुपान्तरित हुनेछ ।

नेपाली युवाको अवस्था

नेपाल अहिले युवाबिहीन देशजस्तै बनेको छ । पासपोर्ट लिएर विदेशिने युवाहरुको संख्या दैनिक १ हजार ५ सयको हाराहारीमा छ । विदेशबाट दैनिक ३ जनाको लास नेपाल आइरहेको अवस्था छ । २०७२ सालको रिपोर्टलाई हेर्ने हो वैदेशिक रोजगारीमा गएका युवाहरुको मृत्यु संख्या १ हजार २ रहेको छ ।

खुला सीमाना वा अवैध रुपबाट जानेको संख्या पनि त्यही अनुपातमा देखिन्छ । नेपाली गाउँहरुमा अहिले अपाङ्ग, अशक्त, वृद्घ–वृद्घा र बालबच्चाहरु मात्रै रहेको अवस्था छ । यो देशका दलाल शासकहरु तिनै विदेशमा खुन–पसिना बगाउने युवाहरुको रेमिट्यान्समा मोजमस्ती गरिरहेका छन् । उनीहरु युवाहरुलाई विदेश पलायन गराउन टेन्डर खोलेर बसेका छन् ।

यसरी नेपाली युवाहरुलाई पलायनता, निराशा र अविश्वासको भुमरीमा फसाएर यहाँको दलाल पुँजीपति वर्गले एकलौटी ढंगबाट दलाल संसदीय व्यवस्था चलाउने कुचेष्टा गरिरहेको छ । नेपाली समाजको यो भयावह अवस्थाको बीचबाट नेपाली युवाहरुको विचारधारा, जीवनशैली, चरित्र र संस्कृतिलाई निम्न त्रिकोणात्मक वा त्रिपक्षीय आधारमा वर्गीकरण गरी हेर्न सकिन्छ । यसकै आधारमा समाधानको बाटो पनि पहिल्याउन सकिन्छ ।

राजनीतिक–वैचारिक धारा

यसमा क्रान्तिकारी धारा, यथास्थितिवादी धारा र प्रतिगामी धारा पर्दछन् । क्रान्तिकारी धाराअन्तर्गत राष्ट्रिय युवा जनस्वयंसेवकलगायत नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादको लक्ष्य राख्ने देशभक्त तथा वामपन्थी युवाहरु पर्दछन् । यो धारामा क्रियाशील युवाहरुमा राष्ट्रिय भावना, क्रान्तिको उद्देश्य, संघर्षशीलता, भविष्यप्रति आशावादिता र जनउत्तरदायित्वबोधका साथै क्रान्ति–निष्ठा भरपूर मात्रामा छ । यो धारा प्रगतिशील राष्ट्रवादको आधारमा राष्ट्रिय स्वाधीनताको मुद्धामा अघि बढेको छ ।

यथास्थितिवादी धाराअन्तर्गत संसदवादी दलनिकट युवा संगठनहरु वाईसीएल, प्ररायुसंघ, तरुण दल र मधेशी युवा फोरमलगायतका युवा संगठनहरु पर्दछन् । यो धाराअन्तर्गत सुधारवादी र प्रतिक्रियावादी चरित्र र चिन्तनका युवाहरु क्रियाशील छन् ।

प्रतिगामी धाराअन्तर्गत राप्रपानिकट राप्रयुसंघलगायत राजावादी र केही धार्मिक संघमा आबद्घ युवाहरु पर्दछन् । यो धाराका युवाहरुको सोच निकै पश्चगामी र पूरातन प्रकारको छ । यिनीहरुको सोच भनेको हिन्दू सामन्ती समाजव्यवस्थाको पुनर्स्थापना गर्नु रहेको छ । उनीहरुले उठाउने राष्ट्रियताको नारा पनि ‘गाई राष्ट्रवाद’ वा सामन्ती अन्धराष्ट्रवादमा आधारित छ ।

यी तीनै प्रवृत्तिका युवाहरुमा सबैभन्दा खतरनाक र घातक धारा भनेको संसदवादी यथास्थितिवादी धारा हो, जसले सत्ता र शक्तिको भरमा राष्ट्रघात, जनघात र भ्रष्टाचारलाई संस्थागत गर्न ठूलो भूमिका निर्वाह गरिरहेको छ । डनवाद र धनवादको संरक्षण र परिचालनका साथै पुँजीवादी–साम्राज्यवादी छाडा संस्कृतिको संरक्षण र विकास पनि यही धाराले गरिरहेको छ । यसले राष्ट्रियताको सवालमा दलाल एवम् गुलाम राष्ट्रवादको पक्षपोषण गर्छ ।

सामाजिक–सांस्कृतिक धारा

यसमा पनि मूलतः ३ प्रकारका प्रवृत्ति र धाराहरु नै क्रियाशील देखिन्छन्, जो कुनै राजनीतिक दलसँग स्थायी रुपले जोडिएका हुँदैनन् । जसअन्तर्गत श्रमिक–बौद्धिक धारा, आवारा–लम्पट धारा र स्वछन्दतावादी–अर्थवादी धारा पर्दछन् ।

यसमा श्रमिक र बौद्घिक तप्काका युवाहरु शारीरिक र मानसिक श्रममा क्रियाशील छन् । देश, जनता र आफ्नो पेशा–व्यवसायप्रति चिन्ता गर्छन्, गुण–दोषका आधारमा पार्टी–राजनीतिलाई सहयोग पनि गर्छन् । समाज र प्रकृतिसँग जोडिएका साहित्य सिर्जना र जनकार्य पनि गर्छन् तर दीर्घकालीन भविष्यप्रति उदासीन छन् । दलाल पुँजीवादी व्यवस्थाको विकृति र विसंगतिबाट निराश र चिन्तित छन् ।

आवारा र लम्पट तप्काका युवाहरुमा कुनै मानसिक र शारीरिक श्रमको गुन्जायस छैन । अश्लील र छाडा संस्कृतिमा लिप्त हुनु, अर्धनग्न भएर हिँड्नु, पैसा र मोज–मस्तीका लागि आफ्नो अस्तित्व बेच्नेदेखि लिएर साना–ठूला अपराधमा सामेल हुनु, विभिन्नखाले लागूऔषधको कुलतमा फस्नु आदि उनीहरुको जीवनचर्या भैसकेको छ ।

यसमा सामान्य परिवारदेखि उच्च घरानियाँ परिवारका युवाहरु समेत पर्छन् । उच्च घरानियाँका युवाहरु मोज–मस्ती र विलासिताका कारण यसरी बिग्रिएका छन् भने सामान्य परिवारका युवाहरु परिस्थिति र बाध्यताका कारण बिग्रिएका छन् । यो आमयुवा र समाजका निम्ति डरलाग्दो चुनौती हुँदै गएको छ ।

स्वच्छन्दतावादी–अर्थवादी धाराका युवाहरु नेपाली समाजको मौलिक संस्कृति, सामाजिक मर्यादा र परिवर्तनको आन्दोलनका चुनौती हुँदै गएका छन् । यो तप्काका युवाहरुमा कुनै राष्ट्रियताको बोध वा सामाजिक बोध या क्रान्तिबोध केही पनि छैन । सिर्फ पैसा कसरी कमाउन सकिन्छ ? विदेशी संस्कृति र धर्मलाई नेपाली समाजमा कसरी घुसाउन सकिन्छ ? कहाँ गएर र कसरी मोज–मस्ती गर्न पाइन्छ ? पैसा कमाएर समाजमा कसरी ‘हाईफाई’ देखाउन सकिन्छ ? पुँजीवादीहरुले बनाएका विलासिताका सामान कसले कति किन्न सक्छ ? भन्ने होडभन्दा यो तप्कासँग अरु कुनै उद्देश्य छैन ।

यसमा खास गरेर एनजीओ–आईएनजीओमा काम गर्ने, फिल्मी तथा अन्य पुँजीवादी सांस्कृतिक क्षेत्रमा काम गर्ने, कतिपय धर्म–संस्कृतिको प्रचारमा लाग्ने अनि तस्करी र गुन्डाग्याङ चलाउने युवाहरु यो धाराअन्तर्गत पर्दछन् ।

यसै प्रकारले युवावर्गलाई विषाक्त कुसंस्कार र कुसंस्कृतिमा लठ्याएर आफ्नो वर्गको राज बचाउन पुँजीवादी–साम्राज्यवादीहरुले नियोजित ढंगले ३ प्रकारका रणनीतिहरु अघि सारेका हुन्छन् । पहिलो, आफ्नो वर्गको रक्षा गर्ने भाट र दलालहरु पैदा गर्छन् । आफ्ना बफादार नोकर र सेवक तयार पार्छन् । यसै कुरालाई जोड दिएर लेनिनले भन्नुभएको छ कि पुँजीपति वर्गले युवाहरुलाई सुसंस्कृत हुने शिक्षा हैन कि पुँजीपति वर्गको हितअनुकूल हुने तालिम र शिक्षा दिन्छन्, जसले पुँजीपति वर्गको शाान्ति तथा अमनचयनमा कुनै विध्न–बाधा नपुर्याईकन उनका निम्ति नाफा कमाउन मद्दत गरोस् । दोस्रो, पुँजीवादी संस्कार र संस्कृतिमा डुबाएर युवाहरुलाई घोर अर्थवादी, व्यक्तिवादी, असामाजिक र एकलकाँटे, व्यभिचारी र भ्रष्टाचारी, दलाल तथा राष्ट्रघाती, छाडा र स्वच्छन्दतावादी, आवारा र अपराधी बनाउँछन्, जसले देश–दुनियाँका बारेमा केही सोच्न नसकोस र उसैको आडमा एकलौटी आफ्नो स्वार्थको स्वर्ग बचाउन सकियोस् । तेस्रो, यी सबै कुराबाट बचेर युवाहरु राष्ट्रवादी र क्रान्तिकारी भएर अगाडि बढे भने दमन गर्ने र समाप्त पार्ने षयन्त्र गर्छन् ।

पलायनवादी धारा

खास गरेर यो विदेश जाने वा पलायन हुने प्रवृत्तिसँग सम्बन्धित छ । यसमा बौद्घिक, श्रमिक र अन्य गरी ३ प्रकारका युवाहरु पर्दछन् । बौद्घिक युवाहरु अवसरको खोजीमा विदेशिने क्रम बढ्दो छ । कथित डीभी भरेर, पीआर लिएर वा अन्य कुनै प्रयोजनमा बौद्घिकहरु पलायन भइरहेका छन् ।

कतिसम्म भने यहाँ प्रोफेसर भएका, जनप्रतिनिधि भएका वा अन्य कुनै राम्रो पेशा–व्यवसायमा भएका युवा समेत विदेशमा गएर अरुको नोकर भई पैसा कमाउँदैछन् । त्यस्ता युवाहरु कमै मात्र स्वदेश फर्कन्छन् । श्रमिक युवाहरु भने केही विकल्प नभएपछि ऋणदान गरेर विदेश जाने गर्छन् । उनीहरुमध्ये थोरै मात्र भनेबमोजिमको पैसा कमाएर फर्किएका छन्, नत्र भने अधिकांश अपाङ्ग भएर, रोगी भएर, जेल परेर वा यस्तै दुःख भोगेर फर्किएका छन् । विदेशिने युवाहरुमध्ये कयौंका घर–परिवार ध्वस्त भएका छन् ।

तर, केही युवाहरु भने विदेशमा हन्डर खाएर वा त्यहाँबाट काम सिकेर नेपालमा आएर राम्रो व्यवसाय वा पेसा अपनाएर बसेका उदाहरण पनि छन्, यो सकारात्मक पक्ष हो । तेस्रो पक्षीय युवाहरु झन् डरलाग्दो ढंगले विदेशमा नारकीय जीवन बिताउँदैछन् । खास गरेर युवतीहरु सुनौलो रोजगारीका नाममा दलालहरुको फन्दामा परेर एशियाको घेरा काटी अहिले अफ्रिकी मुलुकमा समेत बेचिएर बेश्याबृत्ति गर्न बाध्य छन् । भारतलगायत अरब मुलुकको त कुरै छाडौं ।

कयौं युवा–युवतीहरु अहिले लागूऔषधलगायत अन्य थुप्रै अवैध कामको तस्करीमा समेत प्रयोग भइरहेका छन् । तर, दलाल राज्य यी सबैबाट बेखबर छ ।

राष्ट्रिय युवा जनस्वयंसेवकको भूमिका

यो युवा संगठन भनेको राष्ट्र र जनताको सेवामा स्वयं समर्पित हुने युवाहरुको संगठन हो । स्वयंसेवक भनेको स्वैच्छिक सेवा गर्ने कुरा हो, कुनै करकाप वा शर्तमा होइन । यो संगठन युवा कम्युनिस्टहरुको संगठन हो । यसको मार्गदर्शक सिद्घान्त मालेमावाद हो । मालेमावादी शिक्षाको सार भनेको श्रमजीवीलाई बुद्घिजीवी र बुद्घिजीवीलाई श्रमजीबी बनाउनु हो । लेनिनले कम्युनिस्ट नवयुवकहरुको शिक्षाबारे भावुकतापूर्ण व्याख्या गर्दै त्यो परम्परागत नैतिक उपदेशका आधारमा हुनुहुँदैन भनेका छन् । लेनिन भन्छन्– ‘शिक्षाप्रणाली पुँजीपतिहरुको हातमा रहुन्जेल युवापुस्ता अन्ध र अज्ञानी बनिरहनेछ किनकि पुँजीवादी शिक्षाको दस खण्डमध्ये नौ खण्ड बेकारको हुन्छ भने बाँकी एक खण्ड पनि विकृत हुन्छ’ भन्नुभएको छ ।

युवा देश र समाजको वैकल्पिक नेतृत्व हो । भोलिको समाज कस्तो बन्ने भन्ने कुराको निर्धारण अहिलेको युवापिँढीको चेतना, चरित्र र व्यवहारमा भर पर्छ । त्यसै कुरालाई मध्यनजर गरेर माओले भन्नुभएको छ– ‘युवाहरु हो ! यो संसार तिमीहरुको हो हु न त हाम्रो पनि हो तर अन्ततः तिमीहरुकै हो किनकि हामी अस्ताउँदा सूर्य हौं, तिमी उदाउँदा सूर्य हौ ।’

हो, युवाहरुमा तातो र रातो रगत हुन्छ । नयाँ चिजलाई छिटो ग्रहण गर्न सक्नु युवाहरुको विशेष क्षमता हो । युवाहरुमा जोस बढी र होस कम अर्थात् संवेग कम र आवेग बढी हुन्छ । त्यसमा हामीले जोस र होस अर्थात् बल र बुद्घि दुवै भर्नुपर्छ । यसलाई नै क्रान्तिकारी भाषामा लाल र दक्ष (रेड एन्ड एक्स्पर्ट) भनिन्छ ।

हाम्रो नेपाली समाज अहिले सामन्तवाद र पुँजीवादबीचको संक्रमणकालीन चरणमा छ । यसमा थुप्रै पछौटे चिन्तन र उत्पादन प्रणाली छ । लेनिनले भनेझैं हाम्रो समाजको चरित्र भनेको ‘कि आफैंले लुट नत्र अरुलाई लुट्न देऊ, कि अरुका निम्ति मेहनत गर नत्र अरुलाई आफ्ना निम्ति काम गर्न लगाऊ, कि अरुलाई दास बनाऊ नत्र तिमी नै अरुको दास बन’ भन्ने खालको छ ।

लेनिनकै भाषामा भन्नुपर्दा हाम्रो समाजका मानिसहरुको नसा–नसामा, वास्तवमा भन्ने हो भने आमाको दूध चुस्दादेखि नै यस्तो मनोभावना, बानी र धारणा घुसेको छ कि दासहरुको मालिक कि त दासानुदास, या त सानोतिनो सम्पत्तिवाला, सानोतिनो कर्मचारी, सानोतिनो अधिकारी अथवा बुद्घिजीवी हुने तर आफ्नो स्वार्थभन्दा अरुको पटक्कै चिन्ता नगर्ने चिन्तनले घर गरेको छ ।

हो, हाम्रो नेपाली समाज यी र यस्तै मनोभावनाबाट ग्रसित छ । यसका बीचबाट हामीले यो समाजलाई क्रान्ति र समृद्घिको बाटोमा लानुपरेको छ । आमजनता र युवालाई कम्युनिस्ट बनाउनु परेको छ र समाजवादी–साम्यवादी शिक्षाले लैस पार्नुपर्ने छ । लेनिनले नवयुवकहरुलाई भन्नुभएको छ कि ‘कम्युनिस्ट तब मात्र बन्न सकिन्छ जब तपाईंले आफ्नो बुद्घिलाई मानवजातिले आर्जन गरेका सारा ज्ञानराशिले सम्पन्न तुल्याउनुहुनेछ ।’ ‘क्रान्तिकारी युवा त्यो हो, जो किसान र मजदुरहरुसँग एकाकार भएर काम गर्छ ।’

यस आधारमा राष्ट्रिय युवा जनस्वयंसेवकले आफ्नो कार्यभारलाई अगाडि बढाउनु पर्नेछ । हाम्रो समाजमा रहेका सर्वहारा वर्गीय, मध्यम वर्गीय र उच्च वर्गीय युवाहरुको चरित्र र विशेषतालाई पक्डेर संगठन र संघर्षका कामलाई व्यवस्थित पार्नुपर्छ । माथि उल्लेखित धारा र प्रवृत्तिका युवाहरुको हकमा पहिलो, श्रमशील र विवेकशील युवारुलाई साथ, सहयोग र हौसला प्रदान गरी क्रान्तिकारी आन्दोलनमा गोलबन्द गर्नुपर्छ । दोस्रो– आवारा, लम्पट, स्वच्छन्दतावादी र अर्थवादी युवाहरुलाई सुधार गर्नुपर्छ । अर्थात्, सके तिनीहरुलाई सुधारेर क्रान्तिको पक्षमा तान्नुपर्छ, नभए क्रान्तिविरोधी नहुने बनाउनुपर्छ । तेस्रो– दलाल, राष्ट्रघाती, जनघाती र भ्रष्टाचारी युवाहरुलाई कार्बाही गर्नुपर्छ । यसका साथसाथै युवा जनस्वयंसेवकले पार्टीका निति र योजनामा रही पहिलो, आमयुवा र जनताका बीचमा विचारधारात्मक–राजनीतिक कामलाई व्यापक बनाउनुपर्छ । दोस्रो, देशभक्त र क्रान्तिकारी युवाहरुलाई संगठनमा गोलबन्द गर्नुपर्छ अनि जुझारु एवम् बलियो संगठन बनाउन जोड दिनुपर्छ । तेस्रो– राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर व्यापक संघर्षको उठान गर्नुपर्छ । यसमा अन्य युवा संगठनसँग पनि मुद्धागत सहकार्यमा ध्यान दिनुपर्छ । चौथो– सामाजिक विकृति–विसंगतिका विरुद्घ जनकार्बाही अगाडि बढाउनुपर्छ र पाँचौं– भ्रष्ट र दलालहरुका विरुद्ध सशक्त प्रकारको कार्बाही अगाडि बढाउनुपर्छ ।

यी कामहरुका साथसाथै अहिलेका विकसित प्रविधि, चेतना र विचारलाई एकीकृत जनक्रान्तिको कार्यदिशाअनुरुप अगाडि बढाउन प्रयत्नशील हुनुपर्छ । यसो गरियो भने नै राष्ट्रिय युवा जनस्वयंसेवक आमजनता र नेपाली युवाको ढुकढुकी र भरोसायोग्य संगठन बन्न सक्छ ।

२८ वैशाख, २०७३

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर