newskoseli.Com

पार्टीपंक्तिलाई विप्लवको निर्देशन : अविलम्ब परिचालित होऊ !

नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्दले यतिबेला जनजीवनलाई सन्त्रस्त पार्नेगरी बढिरहेको बाढीपहिरोको प्रकोपको मुख्य कारण नेपाली भूभाग र नेपाल–भारत सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतले बनाएका बाँधहरु भएको बताएका छन् ।

बाढीपहिरोपीडितहरुप्रति सहानुभूति, समवेदना र तिनको उद्धार एवम् सेवामा डट्ने प्रतिबद्धता प्रकट गर्न महासचिव चन्दले बिहीबार प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ– ‘केही दिनयता लगातार भइरहेको भारी वर्षाका कारण देशव्यापी बाढीपहिरो जाँदा र डुबान हुँदा देशमा ठूलो जनधनको क्षति हुन पुगेको छ । हालसम्म ८३ जना नागरिकहरुको ज्यान गैसकेको छ, दर्जनौं बेपत्ता र सयौंं घाइते भएको अवस्था छ । बाढीले सयौं बिघा जमिन कटान गरेर करोडौंको क्षति गरेको छ । त्यसैगरी तराईका सीमावर्ती गाउँहरु पूर्वदेखि पश्चिमसम्म डुबानमा परेका छन् । बाढीबाट सवैभन्दा बढि क्षति प्युठान र राप्ती क्षेत्रमा भएको छ । ज्यान गुमाउने प्युठानका पाका कम्युनिस्ट नेता हरिबहादुर केसीसहित हुनुहुन्छ । स्मरण रहोस्, तराइमा भएको डुबानको मुख्य कारण भारतले अन्तर्राष्ट्रिय मान्यताविपरीत नेपालको सीमा नजिकबाट बनाएको ८ मिटर अग्लो पक्की बाटो (जसले सीमानामा एक प्रकारको बाँधको काम गरेको छ) र भारतले एकलौटी निर्माण गरेका १४ वटा बाँध र तटबन्धहरु देखिएका छन् ।’

सरकारसँग कूटनीतिक पहल गरी बाँधको समस्या समाधान गर्न माग गर्दै महासचिव चन्दले अन्यथा जनताले संघर्षको बाटो अपनाउनुपर्ने चेतावनी विज्ञप्तिमार्फत दिँदै भनेका छन्– ‘बाढीपहिरो र डुबानबाट क्षति व्यहोरेका जनतालाई यथाशिघ्र खाना, लत्ताकपडा, बासको व्यवस्था गरियोस् भने घाइते नागरिकहरुको छिटोभन्दाछिटो निःशुल्क उपचारको व्यवस्था  गरियोस् । तराईमा भारतले निर्माण गरेको बाटो र बाँधका कारणले भएको डुबानको समस्यालाई समाधान गर्न कूटनीतिक पहल गरी पानी खोल्ने व्यवस्था गरियोस् । अन्यथा जनताले संघर्षको बाटो अपनाउनु पर्नेछ ।’

बाढीपहिरोपीडित जनताको उद्धार, राहत र सेवामा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिँदै माओवादी महासचिव चन्दले विज्ञप्तिमा उल्लेख गरेका छन्– ‘जनताको दुःखमा सेवामा डट्ने माओवादीको संस्कार हो । जनतालाई बाढीपहिरो र डुबानले दुःख दिइरहेकाले देशभरका हाम्रो पार्टी, जवस, मोर्चाका नेता र कार्यकर्ताहरु आ–आफ्नो क्षेत्रबाट अविलम्ब राहत संकलन र जनसेवामा परिचालित हुन पनि निर्देशन गरिन्छ ।’
विज्ञप्तिको अन्त्यमा चन्दले लेखेका छन्– ‘बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनुहुने कमरेड हरिबहादुर केसी (बादल) सहित सम्पूर्ण नागरिकहरुप्रति पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । परिवारका सदस्य गुमाउनुभई मर्माहत हुनुभएका सवै नागरिकहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ । साथै, घाइतेजनहरुप्रति शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । पार्टी जनताको दुःखमा हरतरहले सहयोगमा सहभागी हुने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर