newskoseli.Com

माछा पालेरै भाइ र छोराको डाक्टरी पढाइ पूरा

सिरहाका पाण्डव मण्डल र सप्तरीका बलराम यादवले छोरा र भाइलाई डाक्टर मात्रै बनाएनन् झन्डै २५ जनालाई रोजगारी समेत दिए र थोरै जमिन हुनेलाई पनि माछापालन व्यवसाय गर्न लगाए ।

जहाँ इच्छा त्यहाँ उपाय भने झैं मण्डल र यादवको चाहनालाई जिल्ला कृषि विकास कार्यालय सिराहा र सप्तरीका मत्स्य विकास अधिकृतले पूरा गरिदिए ।

नेपाल सरकारको प्राविधिक सहायता र तराईमा एक हेक्टर जमिन बराबर ३ लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने नीतिका कारण तराईमा माछापालन गर्ने किसानको सङ्ख्या अहिले बढेको छ ।

बलरामका छोरा अनिल यादवले गत वर्ष नेपालबाट एमबीबीएस (डाक्टर) को उपाधि प्राप्त गरे । अनिल केही महिनापछि मेडिकल डाक्टर (एमडी) अध्ययनका लागि मित्रराष्ट्र चीन जाने अन्तिम तयारीमा छन् ।

त्यसो त सिरहाका पाण्डवले भाइ ओमप्रकाश मण्डल र धीरज मण्डललाई नेपालमा एमबीबीएस अध्ययन गर्न लगाए । मण्डलले आफ्नो फार्म भाइको नामबाट स्थापना गरेका छन् । सशस्त्र द्वन्द्वको चपेटाबाट ओमले नयाँ जीवन प्राप्त गर्न सकेकाले फार्मको नाम ‘ओम मत्स्य फार्म’ राखेका रहेछन् ।

सप्तरीका भरतकुमार शाहले पथ्थरगडा– ७ मा व्यावसायिक माछापालन सुरु गरेका छन् । आठ बिगाह जग्गामा व्यावसायिक माछापालन सुरु गरेका शाहको उत्साहको स्रोत यादव र मण्डल हुन् । उनका ११ वटा पोखरी छन् । प्रतिकट्टा १ सय २० केजी धान दिएर उनले आठ बिगाहा जग्गा भाडामा लिएका हुन् ।

भरतका अनुसार उनको पोखरीमा प्रतिकट्ठा २ सयदेखि २ सय ५० केजीसम्म माछा उत्पादन हुन्छ । सरदर जम्मा ३७ हजार केजी माछा उत्पादन हुने र ती माछा १ सय ९० देखि २ सय रूपैयाँ प्रतिकेजीसम्ममा बिक्री गर्दा उनलाई खर्च कटाएर वार्षिक ५० लाख रूपैयाँ आम्दानी हुन्छ ।

नकटी रायपुर– ८ रुपनी सप्तरीमा बलराम यादवले झन्डै १० बिगाह जमिनमा माछा व्यवसाय गरेका छन् । उनको पोखरीमा १० जनाले रोजगारी पाएका छन् । उनका १३ वटा पोखरी छन् । सरकारबाट ७ लाख ८० हजार रूपैयाँ अनुदान प्राप्त गरेका बलरामको कूल लगानी २४ लाख रूपैयाँ छ । उनले खर्च कटाएर वार्षिक ६० लाख रूपैयाँ बचत गर्छन् ।

सिरहाका पाण्डव मण्डलले वि.सं. २०७० मा ओम माछा फार्म दर्ता गरी व्यावसायिक माछापालन सुरु गरेका हुन् । उनको ४५ लाख रूपैयाँ ऋण छ । उनले सरकारबाट ८ लाख रूपैयाँ अनुदान प्राप्त गरेका छन् । उनका ११ वटा पोखरी छन् । उनले खर्च कटाएर वार्षिक ५५ लाख रूपैयाँ बचत गर्छन् । उनका फार्ममा १४ जनाले रोजगारी पाएका छन् ।

यहाँका अधिकांश पोखरीमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर र विदेशी जातमा कमन, सिल्भर, बिगहेड र ग्रासकार्प माछा उत्पादन गर्ने गरिन्छ । पङ्गासिएसलाई माछा जातमा राजा मानिन्छ । उक्त माछाको मेरुदण्डमा सग्लो एक मात्र काँडा हुन्छ ।

कूल गार्हस्थ उत्पादनमा माछाको योगदान ४ दशमलव शून्य २२ प्रतिशत छ । नेपालमा माछाको बजार प्रचुर छ । आ.व. २०७२–७३ को असार मसान्तसम्म ४० हजार ३ सय ३६ वटा पोखरीबाट व्यावसायिक माछा उत्पादन कार्य भइरहेको सरकारी तथ्याङ्क छ ।

नेपाल मत्स्य व्यवसायी सङ्घका महासचिव जोगेन्द्र महतोका अनुसार भारतबाट प्रतिवर्ष झन्डै ७० प्रतिशत माछाको आयात हुन्छ । आ.व. २०७२–७३ को असार मसान्तसम्म पोखरीबाट ५५ हजार ५ सय मेट्रिक टन र प्राकृतिक जलाशय, खोला तथा तालबाट २२ हजार ५ सय गरी वार्षिक ७८ हजार मेट्रिक टन माछा उत्पादन भएको छ । सङ्घका अनुसार भारतबाट वर्षैपिच्छे ५४ हजारदेखि ६० हजार मेट्रिक टनसम्म माछा आयात हुने गरेको छ । यस आ.व. मा गत आ.व. को तुलनामा २९ प्रतिशतले माछा आयातमा कमी आएको बताइन्छ ।

आव २०७२–७३ को असार मसान्तसम्ममा ९ हजार ९ सय ३४ हेक्टर जलाशय व्यावसायिक माछा उत्पादनका लागि उपयोगमा ल्याइएको छ । माछा उत्पादन कार्यमा ३५ हजार व्यवसायी किसान आबद्ध भएको बताइन्छ । खाद्य तथा गुणस्तर विभागले भारतबाट फर्मालिनको प्रयोग भएको माछा आयात भएको प्रमाणित गरेपछि काठमाडौंमा जिउँदो माछाको व्यापार समेत बढेको छ ।

अठार महिनादेखि राजधानीमा ३८ वटा कक्षबाट जिउँदो माछाको बिक्री वितरण गर्दै आएको गोल्डेन लाइफ फिस इन्टरप्राइजेजका धनी खगेन्द्र ढकालले जानकारी दिए । राजधानीको बल्खु, चाबहिल, बानेश्वर, कलङ्की, बसुन्धरालगायतका चोकमा विभिन्न जातका जिउँदो माछा रोजीरोजी उपभोक्ताले खरिद गर्न सक्छन् ।

फर्मालिन एक प्रकारको रसायन हो, लासलाई ताजा बनाइराख्न यसको प्रयोग गरिन्छ । फर्मालिन प्रयोग भएको माछा खानाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने कृषि सूचना तथा सञ्चार केन्द्रका प्रमुख नारायण न्यौपानेको भनाइ छ ।

कुखुराको मासुको विकल्पमा उपभोक्ताले माछा रोज्न थालेपछि चितवन जिल्लाबाट ट्याङ्करमा माछा आयात गरी राजधानीका विभिन्न स्थानबाट जिउँदो माछा बिक्री वितरण गर्न थालिएको हो । नेपालमा करिब ५० जिल्लामा माछाको व्यावसायिक उत्पादन हुन्छ । यसमध्ये जनकपुर, चितवन, बाराको बोधवन, रुपन्देहीको छपिया र मोरङको बाबियाबिर्ता माछा उत्पादनका लागि प्रमुख क्षेत्र मानिन्छ ।

राजधानीसँग सहज पहुँच पुगेको चितवन जिल्लाले मात्र काठमाडौंमा माछा आपूर्तिलाई धानेको बताइन्छ । पछिल्लो पटक बर्डफ्लु रोगको सङ्क्रमणबाट हजारौं किसान मर्कामा परेलगत्तै मासु उत्पादनमा लागिपरेका किसान माछा उत्पादनतर्फ आकर्षित भएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर