नेत्र चन्द नेतृत्वको नेकपा (माआवादी) ले इन्धनको मूल्यवृद्धि, महँगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध ‘संघर्ष’ का थप कार्यक्रम सार्वजनिक गरेको छ ।
सो पार्टीसम्बद्ध विभिन्न जनवर्गीय संगठनहरुले शनिबार राजधानीस्थित संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलन गरेर चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय बजारभाउभन्दा नेपाल आयल निगमले धेरै मूल्य बृद्धि गरेको, सर्वसाधारण महँगीको मारमा पर्दा पनि सरकारले मूल्यवृद्धि नियन्त्रण नगरी बजारलाई छाडा छाडेको भन्दै ११ जनसंगठनहरुले ‘संघर्ष’ का कार्यक्रम घोषणा गरेका हुन् ।
घोषणा गरिएका कार्यक्रमअनुसार पुस १० मा देशभर कोणसभा, ११ मा अन्तर्क्रिया, १२ मा देशव्यापी विरोध प्रदर्शन, १३ मा मशाल जुलुस, १४ मा अन्तर्क्रिया र १५ गते बिहान ९ देखि १० बजेसम्म चक्काजाम रहेका छन् ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ– ‘पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुनुमा अन्तर्राष्ट्रियस्तरमा नै मूल्यवृद्धि भएको र छिमेकी राष्ट्रमा पनि मूल्य बढेको तर्क नेपाल आयल निगमले गरेको छ । सबैले बुझ्नुपर्ने कुरा के हो भने अन्तर्राष्ट्रियस्तरमा मूल्यमा आएको घटबढका आधारमा नेपाल आयल निगमले नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छैन । सन् २०१२ मा ओपेकले पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मको सबैभन्दा महँगो प्रतिब्यारेल १०९.४५ अमेरिकी डलर कायम गरेको थियो । त्यस समयमा नेपाल आयल निगमले पेट्रोल १ सय ४० रुपैयाँ र डिजल १ सय ९ रुपैयाँ प्रतिलिटरमा बेचेको थियो । सन् २०१६ को नोभेम्बरमा प्रतिब्यारेल ४९.४९ अमेरिकी डलर हुँदा पेट्रोलको ९७ रुपैयाँ र डिजलको ७३ रुपैयाँ प्रतिलिटर मूल्य निर्धारण गरेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य २ सय २१ प्रतिशतले घट्दा नेपालमा यसको मूल्य केवल १.४४ प्रतिशत मात्र घटाइएको थियो । अहिले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ४९.४९ अमेरिकी डलरबाट केवल ५२.२५ अमेरिकी डलर मात्र भएको छ ।’
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नभए ‘संघर्ष’ का थप कार्यक्रम घोषणा गर्ने चेतावनी समेत माओवादी जनसंगठनहरुले दिएका छन् ।