सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मेलम्ची नगरपालिका– ४, पाटीभञ्ज्याङ, सिन्धुपाल्चोकका मनोज श्रेष्ठको मृत्यु भएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजय र्यालीमा सहभागी भएर फर्कंदै गरेको समयमा शिवपुरी गाउँपालिका– ३, काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले चलाएको बा २८ प २१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट २ सय मिटर तल पुग्दा श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिएका छन् । शव परीक्षणको लागि जिल्ला अस्पतालमा ल्याउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।