संविधानले प्रत्याभूत गरेको स्वतन्त्र प्रेससम्बन्धी मौलिक हक र प्रेस काउन्सिल नेपालको अधिकारक्षेत्रमाथि नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ ।
संविधानको मर्म र भावनाविपरीत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध विभिन्न पाँच सञ्चार माध्यम र ती सञ्चार माध्यमका सम्पादकलाई समाचारको स्रोत खोल्न प्रहरीले काटेको पत्रप्रति प्रेस सेन्टर नेपालका महासचिव विष्णु सापकोटाले अाइतबार विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।
पूर्वप्रहरी नायब महानिरीक्षक एवं नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्धको मुद्दा छानविन गर्ने नाममा सञ्चार माध्यमलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आदेशको शैलीमा पत्र काटेकोमा सेन्टरले आपत्ति जनाएको हो ।
सम्बन्धित समाचारको स्रोत माग्दै पत्रचार गर्नु निन्दनीय र खेदजनक भएको भन्दै महासचिव सापकोटाले प्रेसविरोधी गतिविधि गर्ने दोषीलाई छानविन गरी कारबाही गर्न विज्ञप्तिमा माग गरेका छन् । सेन्टरले स्वतन्त्र र भयरहित पत्रकारिता गर्न सक्ने वातावारण बनाउन सरकारलगायत सम्बन्धित सबैसँग माग समेत गरेको छ ।