newskoseli.Com

प्रधानमन्त्रीलार्इ निर्वाचन आयुक्तको आग्रह : राष्ट्रियसभा निर्वाचनको मिति तोक्नोस्

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताएका छन् ।

आयोगका पदाधिकारीले शुक्रबार प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीसँग उनको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्त रूपमा भेटी उक्त आग्रह गरेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश प्रमाणीकरण गरेपछि आयोगका तर्फबाट निर्वाचनको मिति घोषणा गर्न सल्लाह दिइएको थियो । सो अवसरमा डा. यादवले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशसभा सदस्यको शपथ नभएसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने व्यहोरा पनि अवगत गराएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकामा आयोग र पदाधिकारीहरूलाई धन्यवाद तथा बधाई ज्ञापन गरे । निर्वाचन सफल बनाउन सरकारले पुर्‍याएको सहयोगको सराहना गर्दै डा. यादवले पनि प्रधानमन्त्रीसमक्ष बधाई ज्ञापन गरेको आयोगले जनाएको छ ।

भेटका अवसरमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह पनि उपस्थित थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर