प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने तथा राष्ट्रियसभा निर्वाचनको मिति निर्धारण गर्ने विषयमा दलहरूबीच सहमति जुटाउन बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा सर्वदलीय बैठक राखे ।
बैठकमा प्रधानमन्त्री देउवाले यी ३ विषयमा सहमति जनाउन दलहरूसँग आग्रह गरे । माओवादी नेताहरुले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषय सरकारको भएको भन्दै ती काम छिटो गर्न सुझाव दिएको बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले बताए ।
राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई दलका नेताहरुले सुझाव दिए । चाँडो प्रदेश प्रमुख र अस्थायी केन्द्रका बारेमा निर्णयमा पुग्न सरकारलाई सुझाव दिइएको बैठकपछि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले बताए ।
नयाँ जनादेश आइसकेको अवस्थामा सत्ता हस्तान्तरणमा ढिलाइ गर्ने तथा प्रतिनिधिसभाको समानुपातिकको परिणाम रोकाउने काम भएकामा आफूहरुले गम्भीर ध्यानाकर्षण गराएको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताए ।
उपाध्यक्ष रावलले भने– “निर्वाचनअगावै प्रदेशको राजधानी र प्रमुखबारे निर्णय गर्न हामीले आग्रह गर्दा सरकारले सुनेन, अब सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने संवैधानिक र कानुनी काम सरकारले चाँडो पूरा गरोस्, अन्य दीर्घकालीन महत्त्वका निर्णय तथा सरुवा–बढुवा नगरोस् भनेर स्पष्ट राखेका छौं ।” आयोगलाई सरकारले नै दबाब दिएर परिणाम रोकाएको आरोप रावलले लगाए ।
सर्वदलीय बैठकमा सहमति जुटेपछि बिहीबारै बस्ने मन्त्रिपरिषदको बैठकबाट यी तीनैवटा विषयमा निर्णय गर्ने तयारी सरकारले गरेको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल, एमाले नेताहरु सुवास नेम्बाङ, भीम रावल, विष्णु पौडेल र अग्नि खरेल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजय गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौला, संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय र राजेन्द्र महतोलगायत सहभागी भए ।
अस्वस्थताका कारण एमाले अध्यक्ष केपी ओली भने बैठकमा उपस्थित भएनन् ।