नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. नारायण खड्काले नयाँ सरकार गठनमा कांग्रेस बाधक नभएको बताएका छन् ।
बिहीबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा. खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानुनी अड्चनका कारण ढिलाइ भइरहेको बताउँदै नयाँ सरकार गठनमा कांग्रेस बाधक नभएको दावी गरेका छन् । राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरी कांग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको उनले उल्लेख गरे ।
कांग्रेसले नयाँ सरकार गठनका लागि कोही कसैसँग कुनै सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै डा. खड्काले प्रचण्डसँग सरकार गठनका विषयमा सहमति र सम्झौता भएको भन्ने विषय हल्ला र निराधार भएको बताए । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ठूला दुई शक्ति एक ठाउँमा भएका कारण कांग्रेसले पराजय व्यहोर्नु परेको केन्द्रीय सदस्य खड्काको भनाइ छ ।
राष्ट्रियसभाको निर्वाचन नभएसम्मका लागि अहिलेको सरकार नै मान्य हुने हुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने उनको दाबी छ ।