newskoseli.Com

अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेटवार्ता, के–के भए कुराकानी ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेन्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।

अध्यक्ष प्रचण्ड र उनलाई भेट्न बिहीबार बिहान उनको निवास खुमलटार पुगेका महामन्त्री सिंहबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन तथा नेकपा (एमाले) र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता एवं वाम गठबन्धनको विस्तारलगायतका विषयमा कुराकानी भएको थियो ।

महामन्त्री सिंह अध्यक्ष प्रचण्डका राजनीतिक गुरु एवं नेपालको कम्युनिस्ट आन्दोलनका एक पुराना सम्मानित व्यक्तित्व मानिन्छन् । भेटका क्रममा उनीहरुबीच वाम गठबन्धन कायम राखेर त्यसलाई अझ विस्तार गरी अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

भेटमा नेता सिंहले वामपन्थी मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताए ।

दुवै नेता राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार खडा गर्दै वामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन् । उनीहरुबीच नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने र जनताका अपेक्षालाई सम्बोधन गर्ने विषयमा साझा कार्यक्रम बनाउने विषयमा समेत छलफल भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर