सोनाम ल्होसार फागुन ४ मा पर्ने भएकाले सोही नाममा सरकारले माघ ४ मा दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छ । तामाङ घेदुङ संघ लमजुङ शाखाले शुक्रबार पत्रकार सम्मेलन गरी ४ माघमा दिइएको बिदा फिर्ता लिन आग्रह गरेको हो ।
मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा (फागुन ४ मा) पर्ने भन्दै माघ ४ को सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेको संघले जनाएको छ ।
संघका जिल्ला कार्यकारिणी समितिका अध्यक्ष अजय तामाङले नेपाली पात्रोमा गलत मितिमा सोनाम ल्होसार उल्लेख भएको पत्रकार सम्मेलनमा बताए । “माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार पर्छ, माघ शुक्ल प्रतिपदा फागुन ४ गते हो”, तामाङले भने– “हामीले फागुनमा ल्होसार मनाउने हो, त्यसैले माघ ४ को बिदा आवश्यक छैन ।”
फागुन ४ गते शेर्पा जातिले मनाउने ध्याल्पो ल्होसार पनि परेको र उक्त दिन स्वतः सार्वजनिक बिदा भएकाले अर्को बिदा घोषणा गरिरहनुपर्ने आवश्यक नरहेको उनले बताए ।
तामाङ जातिले चरा वर्गको बिदाइ र कुकुर वर्गको स्वागत गर्दै २८५४औं सोनाम ल्होछार मनाउँदैछन् । ल्होसारका अवसरमा विभिन्न प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।