newskoseli.Com

दर्दनाक अवस्था : चिसोका कारण साताभित्रै एकै वडामा ५ को मृत्यु, जिल्लामा १३ पुगे

केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ ।

चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका– ६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो ।

यसअघि शुक्रबार सोही वडाकी ६२ वर्षीया सीमादेवी साह र बुधबार सोही ठाउँका ५२ वर्षीय विश्वनाथ साह, ७० वर्षीया रुनादेवी सदा र ७२ वर्षीया रामसुनैर साहको मृत्यु भएको जानकारी सोही वडाका वडाध्यक्ष जगदिश महतोले दिए । चिसोका कारण मृत्यु भएकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सरकारको तर्फबाट मृतक परिवारलाई किरियाखर्च उपलब्ध गराउनुपर्ने माग उनले गरे ।

अत्यधिक चिसोका कारण आइतबार सिरहाको लहान नगरपालिका– ६ मा पनि एक महिलाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर लहान नगरपालिका– ६ निवासी ६५ वर्षीया सीतादेवी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

योसँगै चिसोका कारण मृत्यु हुनेको संख्या सिरहामा १३ पुगेको छ । यसअघि मंगलबार लक्ष्मीपुर पतारी गाउँपालिका– ६, सीतापुर निवासी ४१ वर्षीया माकोदेवी पासवान, कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका– ८, चोहर्वास्थित मामाघर आएकी पाँच वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियो ।

चिसोको कारण निमोनियाले थलिएकी काजललाई उपचारको लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् । चिसोकै कारण गत साता सिरहाको गोलबजार नगरपालिका– ४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार– २ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो तथा धनगढीमाई नगरपालिका– ७, कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो ।

अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियालगायतका बिरामी बढेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर