newskoseli.Com

प्रचण्डले थाले ‘एकताको लाइन’ मा ‘ऐतिहासिक’ व्याख्या…

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादी केन्द्रबीच एकताका सैद्धान्तिक एवं ‘ऐतिहासिक’ आधारहरुबारे व्याख्याको थालनी गरेका छन् ।

झन्डै ४ महिना अघिदेखि एमाले–माओवादी केन्द्रबीच पार्टी एकताको प्रयास अघि बढिरहे तापनि दुवै पार्टीका शीर्ष नेताबाट दुई पार्टीबीच एकताका सैद्धान्तिक–राजनीतिक आधारहरुबारे केही पनि बोलिएको थिएन । समसामयिक राजनीति र भावी कार्यदिशा एउटै भएकाले एकता हुन लागेको मात्र बताइँदै आएको थियो । तर, केही दिन यता भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ०१९ देखि विभाजित दुई वामपन्थी धार एक–अर्काका परिपूरक रहँदै आएको भन्दै इतिहासका केही घटनाक्रम र श्रृंखलाको व्याख्यासहित एमाले–माओवादी केन्द्रबीच एकताका ‘ऐतिहासिक’ आधारहरुको व्याख्या गर्न थालेका छन् ।

यद्यपि प्रचण्डले अझैसम्म पनि आधारभूत सैद्धान्त, रणनीति, कार्यनीति र कार्यक्रमबारे केही बोलेका छैनन् । केवल संगठनात्मक एकताका आधार मात्र केलाउँदै इतिहास र ‘ऐतिहासिक श्रृंखला’ को मात्र व्याख्या सुरु गरेका छन् ।

‘२०१९ पछि नेपालको कम्युनिस्ट आन्दोलनमा विभाजन आयो, त्यसपछि अलग–अलग समूहका रुपमा कम्युनिस्ट पार्टीहरु अस्तित्वमा रहे, २०२५ मा मोहनविक्रम सिंहले केन्द्रीय न्युक्लियस गठन गर्नुभयो भने २०२८ मा पुष्पलालले कोओर्डिनेसन केन्द्र स्थापना गर्नुभयो’, शनिबार माओवादी केन्द्रसम्बद्ध जनसांस्कृतिक महासंघले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले भने– ‘अहिलेको एमाले कोओर्डिनेसन केन्द्र र माओवादी केन्द्र केन्द्रीय न्युक्लियसको धारा हो र इतिहासमा यी दुई धाराले एक–अर्काको अस्तित्व रक्षाका लागि पूरकको भूमिका खेल्दै आएका छन् ।’

‘२०२८ देखि २०३८सम्म तत्कालीन मालेले चौमलाई दक्षिणपन्थी, मिहिन पाराको संशोधनवादी भन्थ्यो, हामी चौमवालाहरु मालेलाई उग्रवामपन्थी भन्थ्यौं । मोहनविक्रमजीले त ‘उग्रवामपन्थी विचारधाराको खण्डन’ भन्ने मोटो पुस्तक नै लेख्नुभयो’, अध्यक्ष प्रचण्डले भने– ‘२०३८ सालको वरिपरी आइपुग्दा चीनमा माओको निधन भयो त्यसपछि नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ बहस सुरु भयो– चीनको बाटो ठीक कि बेठीक भन्ने बहस चल्यो र २०३८ पछि उग्रवादी भनिएको माले क्रमशः सुधारवादी, व्यवहारवादी धारातिर गयो अनि हामी चौमवालाहरु चाहिँ मशाल हुँदै क्रान्तिकारी धारातिर गयौं, परिस्थिति ठीक विपरीत ठाउँमा आयो ।’

‘दस वर्ष सन्तुलनको वर्ष देखियो त्यसपछि हामी जनयुद्धमा गयौं र उहाँहरु संसदीय संघर्षतिर लाग्नुभयो, २०२८–२०३८ सम्म क्रान्तिकारी मानिएको माले सुधारवादी, व्यवहारवादी धारा र सुधारवादी भनिएका हामी मशाल चाहिँ क्रान्तिकारी धारातिर गयौं’, इतिहासको थप व्याख्या गर्दै प्रचण्डले भने– ‘हामीले जनयुद्ध सुरु गरे पनि सुरुका पाँच वर्षमा प्रतिक्रियावादीहरुको ध्यान हामीतिर थिएन, एमालेतिरै थियो । प्रतिक्रियावादीहरुको भाग खोस्ने ठाउँमा एमाले आइपुग्यो । प्रतिक्रियावादीहरुको निशानामा एमाले पर्‍यो, मदन भण्डारीको हत्या त्यसै भएको होइन, संसदीय संघर्षमा आफ्नो भाग खोसिने डरले प्रतिक्रियावादी शक्तिले उनको हत्या गरे ।’

‘यसरी जनयुद्धका सुरुका पाँच वर्षमा प्रतिक्रियावादीहरुको डर एमालेसँग नै भएकाले आक्रमणको निशानामा माओवादी त्यति परेन । नियतमा नभए पनि त्यति बेलाको एमालेको शक्तिले माओवादीको रक्षा गर्न भूमिका खेल्यो’, एमाले–माओवादीलाई एकार्काका परिपूरक सिद्ध गर्ने प्रयास गर्दै अध्यक्ष प्रचण्डले थपे– ‘जनयुद्ध एकपछि अर्को विजयतिर गयो त्यसपछि प्रतिक्रियावादीहरुको निशानामा माओवादी पर्‍यो, पहिले निशानामा एमाले थियो तर अब माओवादी नै निशाना बन्यो, २०५७ को राष्ट्रिय सम्मेलनपछि प्रतिक्रियावादीले हामीलाई नै निशाना बनाए, उनीहरुले एमालेलाई मित्र र हामीलाई दुस्मन देख्न थाले, त्यो स्थितिले एमालेको रक्षा गर्‍यो ।’

‘यसरी इतिहासमा नियतमा नभए पनि वस्तुगत रुपमा एमालेले माओवादी र माओवादीले एमालेको रक्षा गर्न वस्तुगत भूमिका खेल्यो, हामी यसलाई नयाँ संश्लेषणका रुपमा अघि सार्दैछौं’, आफ्नो ‘नयाँ’ मान्यता अगाडि सार्दै प्रचण्डले भने– ‘२०४९ मा मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रस्ताव अघि सार्नुभयो, यो कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने नियत थिएन, विश्वभरि कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई बचाउन उहाँले बहुदलीय जनवादको प्रस्ताव अघि सार्नुभएको हो ।’

‘अहिले एमाले र माओवादी अलग–अलग पार्टी हुनुपर्ने कारण नै म देख्दिनँ, हामीले पनि ८–१० वर्ष शान्तिपूर्ण रुपमै समाजवादको तयारी गर्ने भनेका छौं र उहाँहरुले पनि त्यही भन्नुभएको छ’, निष्कर्ष पस्कँदै प्रचण्डले भने– ‘समान राजनीतिक कार्यदिशा भएपछि अलग–अलग पार्टीको अस्तित्व राख्नु उचित हुँदैन ।’

‘हामीले माओवाद छाडेका छैनौं, उहाँहरुले पनि जनताको बहुदलीय जनवाद छाड्नुभएको छैन’, सैद्धान्तिक विषयमा प्रवेश गर्न खोज्दै प्रचण्डले भने– ‘नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ अनि हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौं ।’

‘अबको वैचारिक संश्लेषण कसरी गर्ने भन्नेबारे हामी छलफलमा छौं, हिजोबाट वैचारिक विषयमा छलफल सुरु भएको छ’, एकताका वैचारिक आधारमा विमति नरहने उल्लेख गर्दै प्रचण्डले भने– ‘जनयुद्धको भूमिका र इतिहासमा जनयुद्धको योगदानबारे एमाले र हामीबीच कुनै विवाद छैन, एकले अर्काको पूर्ण सम्मान गर्दै अहिलेको परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर हामी अघि बढ्छौं, यसमा कसैले शंका गर्नु पर्दैन ।’

‘केही साथीहरु एकताको विरोध गर्दै हुनुहुन्छ, त्यसको कुनै औचित्य छैन’ आफ्नो पार्टीभित्रै विमति राख्नेहरुप्रति कटाक्ष गर्दै प्रचण्डले प्रश्न गरे– ‘जनताले एकता चाहेका छन्, एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्, जनता खुसी हुँदा उहाँहरु किन निराश हुनुभयो ? नेपालमा राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ ?’

एमालेसँग यथास्थितिमा एकता स्वीकार नगरौं भन्ने माओवादी केन्द्रभित्रका नेता–कार्यकर्तालाई लक्षित गर्दै प्रचण्डले भने– ‘आफूलाई लागेका विषय खुला फोरममा छलफल गर्न छाडेर एकता र बहसबाट भाग्नेहरु क्रान्तिकारी हुनै सक्दैनन् ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर