प्रदेश नं. २ को प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ मा भएको छ । जनकपुरधामस्थित शैक्षिक तालिम केन्द्रको सभागृहमा माघ २१ गते बिहान ११ बजे अधिवेशनको तिथि–समय तोकिएको छ ।
जनकपुरधामस्थित उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा अाइतबार प्रदेश नं. २ का प्रदेशसभा सदस्यको शपथग्रहण सम्पन्न भयाे । कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ७६ वर्षीय ज्येष्ठ प्रदेशसभा सदस्य लगनलाल चौधरीलाई पद तथा गोपनीयताको शपथ गराए । अन्य प्रदेशसभा सदस्यहरूलाई भने चौधरीले शपथ गराए ।
प्रदेश प्रमुखबाट आ–आफ्नो मातृभाषामा शपथग्रहण गर्ने तर लिखित रूपमा चाहिँ नेपाली भाषामा शपथग्रहण पत्र बुझाउने निर्देशन भएपछि प्रदेशसभा सदस्यले सोको विरोध गर्दै आ–आफ्नो मातृभाषामा लेखन र वाचन गर्न माग गरेका थिए ।
विवाद बढ्दै गएपछि प्रदेश प्रमुखले सो निर्देशनलाई सच्याउँदै आ–आफ्नो मातृभाषामा लेखन र वाचन गर्न निर्देशन दिएपछि प्रदेशसभा सदस्यले आ–आफ्नो मातृभाषामै शपथ लिए । सो अवसरमा प्रदेश प्रमुख कायस्थले सहकार्य गरी सौहार्दपूर्ण वातावरणमा प्रदेशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै प्रदेशसभाको पहिलो अधिवेशनबाट प्रदेशसभालाई समृद्ध बनाउने अवधारणा तय गर्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य, उच्च अदालतका न्यायाधीश, क्षेत्रीय सुरक्षा प्रमुख, जिल्ला समन्वय समितिका सभापति, जिल्ला न्यायाधीश, उपमहानगरपालिका–नगरपालिका र गाउँपालिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि र कार्यालय प्रमुखको उपस्थिति रह्यो ।