निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ चितवनमा पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्इबी) को टोलीले मुख्य गोली हान्ने गुम्बेलाई पक्राउ गरेको सीआर्इबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताए । अभियुक्त गुम्बेलाई भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगरबाट पक्राउ गरिएको हो ।
गौचन र तिवारीको दुवै घटनामा लामा संलग्न भएको कार्कीले बताए । केही दिनयता सीआर्इबीको टोलीले लामाको पिछा गर्दै आएको थियो । गीतानगरको भित्री वस्ती क्षेत्रबाट गुम्बेलाई पक्राउ गरिएको हो । सीआर्इबीले अपराधीलाई छाड्दैन भन्ने कुरा कामले पुष्टि गरेको कार्कीले बताए ।
सोमबार साँझ अबेर निजलाई पक्राउ गरी सीआर्इबीले राति नै लामालाई काठमाडौं लगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए । देशकै मध्यभाग भएकाले आपराधिक क्रियाकलापपछि अन्यत्र जान सहज होस् भन्नाका लागि अपराधी लुक्न चितवन आउने गरेको थापाले बताए ।
गौचन हत्याकाण्डका प्रमुख योजनाकार समीरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । व्यवसायी गौचनको असोज २३ मा काठमाडौंको शान्तिनगरमा गोली हानी हत्या भएको थियो । उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गाडीमा गोली प्रहार गरेका थिए ।
रुपन्देही र नवलपरासीको सीमानामा पर्ने खैरहनी भन्ने स्थानमा गत वर्ष पुसमा गोली हानी तिवारीको भएको थियो । देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।