newskoseli.Com

झन् बढ्यो एमाले–माओवादी दुरी, स्थगित भयो संयोजन समितिको बैठक

आइतबार (आज) का लागि तय भएको नेकपा एमाले–माओवादी केन्द्र पार्टी एकता संयोजन समितिको बैठक स्थगित गरिएको छ । अध्यक्षद्वयबीच कुरा नमिलेपछि गृहकार्य नपुगेको भन्दै एकाएक बैठक स्थगित गरिएको छ ।

ओली प्रधानमन्त्री बनेलगत्तै एमाले पक्षले हरेक सवालमा माओवादी केन्द्रलार्इ च्याप्दै गएको, एमालेभित्रको अन्तर्संघर्ष अझ पेचिलो बनेको, प्रधानमन्त्रीलार्इ विश्वासको मत दिन मधेशवादी दलहरू सकारात्मक बनेको र एमालेको पछिल्लो व्यवहारप्रति माओवादी केन्द्रका धेरैजसो नेताहरू असन्तुष्ट बनेको हुँदा एमाले–माओवादी केन्द्रबीच बुधबार यता निकै दुरी बढ्न पुगेको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार बालकोटमा भएको वार्तापछि आइतबार पुनः दुर्इ अध्यक्षबीच छलफल गर्ने र अपराह्न संयोजन समितिको बैठक बस्ने तय भएको थियो । तर, एकताका विषयमा मिल्न बाँकी कुरामा दुई अध्यक्षबीच नै थप छलफल र सहमतिको खाँचो रहेको भन्दै संयोजन समितिको बैठक स्थगित गरिएको एमालेका एक नेताले बताए ।

एकता संयोजन समितिको बैठक स्थगित गरेर ओली–दाहालबीच आइतबार फेरि गहन छलफल गर्ने तयारी भएको बताइएको छ । दुबै पार्टीका दोस्रो तहका नेताले सैद्धान्तिक र वैचारिक बहस निकालेपछि एकताको प्रयास लम्बिँदै गएको छ । ओली र दाहालबीच आइतबार थप छलफल गरेपछि संयोजन समिति बैठक सोमबार बस्ने सम्भावना रहेको ती एमाले नेताले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर