newskoseli.Com

एकीकृत पार्टीको संरचना संघीय ढाँचामा : एमाले–माओवादी कार्यदलको बैठक

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएर बन्ने पार्टीले संविधानमा व्यवस्था गरिएको मुलुकको संघीय संरचना अनुसार नै पार्टीको सांगठनिक संरचना बनाउने भएको छ ।

दुई दलबीच गठित विधान मस्यौदा तथा संगठनात्मक कार्यदलको शनिबार बसेको दोस्रो बैठकमा नेपालको संविधान अनुसार नै पार्टी संरचनालाई संघीय ढाँचामा अगाडि बढाउने गरी छलफल सुरु गरेको हो । कार्यदलले दुई पार्टीको संगठनात्मक अनुभव आदान–प्रदानबाट औपचारिक रुपमा काम सुरु गरेको कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।

कार्यदललाई तोकिएका काम फागुन २५ भित्र सम्पन्न गर्न कार्यतालिका बनाएर अघि बढ्ने निर्णय बैठकले गरेको छ । एमाले र माओवादी केन्द्रका संगठनात्मक ढाँचा, अभ्यास तथा अनुभवका बारेमा एक–अर्को पार्टीको जानकारी आदानप्रदान गर्ने काम शनिबारको बैठकमा भएको नेता विष्टले बताए ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा बसेको कार्यदलको बैठकले अन्तरिम विधानको मस्यौदा तयार पार्दा निश्चित विधि र मापदण्ड अपनाउने समेत निर्णय गरेको छ । कार्यदलको अर्को बैठक फागुन १५ गते मंगलबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

कार्यदलमा एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल, सचिव विष्ट, नेताहरु रघुवीर महासेठ, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल सदस्य छन् भने माओवादीका तर्फबाट नेता बादल, वर्षमान पुन, मातृका यादव, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा सदस्य छन् ।

एमाले र माओवादी केन्द्रले फागुनभित्रै एकता प्रक्रियालाई टुंगो लगाउने गरी तयारी गरेका छन् । कार्यदललाई पार्टी एकताको आधार पूर्ण रुपमा तयार पार्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि नै निर्देशन दिइसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर