newskoseli.Com

कांग्रेस नेता खुमबहादुर खड्काको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएको छ ।

नयाँदिल्लीमा उपचार गराइरहेका खड्काको अपोलो अस्पतालमा शुक्रबार साँझ निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । ६६ वर्षिय खड्का मिर्गौला रोगले पीडित थिए । उपचारका लागि दिल्ली पुग्दासम्म खड्काको शरीरका धेरै अंगले काम गर्न छाडिसकेका थिए ।

१२ जेठ, २००८ मा दाङको धर्ना गाविस– ६ भैंसापथरामा जन्मेका खड्का पाँच वर्ष नपुग्दै उनकी आमा चन्द्रकलाको मृत्यु भएको थियो । उनका बुबा टेकबहादुर कांग्रेसका जिल्लास्तरीय नेता थिए । पदमोदय पब्लिक माध्यमिक विद्यालयमा पढ्दाताका नै उनी कांग्रेसी राजनीतिमा लागेका थिए ।

दाङस्थित जिल्ला अदालतको भित्तामा टाँसिएको तत्कालीन राजा महेन्द्र र रानी रत्न राज्यलक्ष्मीको तस्बिरमा ढुंगा हानेपछि खुमबहादुरलाई राजद्रोहको मुद्दा लाग्यो । त्यसपछि खड्कासहित ७ जना युवाहरू भागेर बनारस पुग्दा खड्काको त्यहीं बीपी कोइरालासँग भेट भयो र उनी बीपीसँग नजिकिए।

२८ वर्षको उमेरमै नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका खड्का ०३३ मा पक्राउ परे र ०३६ को जनमतसंग्रहका बेला छुटे। ०४८ मा भएको आम निर्वाचनमा उनले राप्ती अञ्चलकै कांग्रेसी नेतृत्व सम्हाले । ०४८ मा भौतिक निर्माण तथा यातायात मन्त्री भएका खड्का ०५२ मा गृहमन्त्री बने ।

२०५९ मा उनीमाथि भ्रष्टाचार मुद्दा लाग्यो र भ्रष्ट प्रमाणित भएपछि जेल परे । २ वर्षअघि सम्पन्न कांग्रेसको १३औं महाधिवेशनमा खड्का दोस्रो बढी मत पाएर केन्द्रीय सदस्य भएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर