नेपालका पुराना दुई वामनेताको यस साता निधन भएको छ ।
बिहीबार ललितपुरमा पुराना कम्युनिस्ट नेता कमलराज रेग्मीको ९२ वर्षको उमेरमा निधन भएको छ भने बुधबार काठमाडौंमा चितवनका पूर्वसांसद जागृतप्रसाद भेटवालको निधन भएको छ ।
लामो सदयदेखि क्यान्सर रोगबाट पीडित एमाले नेता भेटवाल ०४८ र ०५१ मा चितवनबाट सांसद निर्वाचित भएका थिए । उनी पञ्चायतकालमा समेत ‘जनपक्षीय उम्मेदवार’ का रुपमा चुनाव लडेका थिए । उनको निधनमा दुःख व्यक्त गर्दै एमाले नेता माधवकुमार नेपालले शोकवक्तव्य जारी गरेका छन् ।
एमालेको केन्द्रीय लेखा आयोगका सदस्य रहेका भेटवाल राप्ती नगरपालिका– ४, भण्डारा, चितवनका वासिन्दा हुन् । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् । पिसाबथैली नजिकैको प्रोस्टेट ग्रन्थीको क्यान्सरबाट पीडित भेटवालको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उचारपछि उपचारकै क्रममा बुधबार वीर अस्पतालमा निधन भएको हो ।
काभ्रेपलाञ्चोकमा जन्मिएर पूर्वी चितवनलाई कर्मथलो बनाएका भेटवालले १० वर्षसम्म अञ्चल सदस्य, क्षेत्रीय इञ्चार्ज, राज्य व्यवस्था विभागको सदस्य र सार्वजनिक लेखा समितिको अध्यक्ष भएर पनि काम गरे । राजनीतिशास्त्रमा स्नातकोत्तर भेटवालले पत्रकारिताका माध्यमबाट समेत राजनीति गरे । भेटवाल वि.सं. २०३४ मा ‘नौलो साहित्य’ त्रैमासिकको प्रकाशक/सम्पादक बने र त्यसैमा २०३८ सम्म काम गरे । ०३९ सालमा ‘प्रकाश’ साप्ताहिकमा सम्पादक/प्रकाशक भए र ०५० सम्म काम गरे ।
त्यसैगरी, ०१५ सालको पहिलो प्रतिनिधिसभा (संसद) मा पाल्पाबाट सांसद निर्वाचित कमलराज रेग्मी नेपाल कम्युनिस्ट पार्टीका चार संस्थापक पछिका एक संस्थापक नै थिए । नेपालको क्रान्तिकारी किसान आन्दोलनमा समेत रेग्मीको महत्त्वपूर्ण भूमिका थियो ।
१ पुस, ०१७ को शाही ‘कु’ कै दिन पक्राउ परेका उनले लामो समय जेलमै बिताए । रेग्मीका श्रीमती, एक छोरा र एक छोरी छन् ।