यातायात क्षेत्रमा सिन्डिकेटको अगुवा एवं प्रवर्द्धक नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य सहित ५ जना पदाधिकारीलाई प्रहरीले शनिबार राजधानीबाट पक्राउ गरेको छ ।
अपराध महाशाखाको प्रहरी टोलीले अत्यावश्यक सेवा अवरुद्ध गरेको अभियोगमा कर्माचार्यसहित उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्कालाई पक्राउ गरेको छ भने महासचिव सरोज सिटौला शुक्रबारदेखि नै प्रहरी नियन्त्रणमा छन् ।
अत्यावश्यक सेवा ऐनविपरीत सार्वजनिक यातायात बन्द गरेकाे अभियाेगमा उनीहरुलाई पक्राउ गरिएको जानकारी महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले दिएका छन् ।
सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोधमा महासंघले शुक्रबार यातायात हड्ताल गरेपछि समितिका पदाधकिारीलाई सरकारले शुक्रबारदेखि नै पक्राउ गर्न सुरु गरेको हाे । तर, महासंघले भने शुक्रबार अबेर विज्ञप्ति निकालेर पक्राउ परेका आफ्ना व्यवसायीलाई शनिबार साँझसम्म नछाडे २७ गतेदेखि अनिश्चितकालीन हड्ताल गर्ने धम्की दिएकाे थियो ।
सिन्डिकेट हटाउने निर्णयबाट सरकार कुनै पनि हालतमा पछि नहट्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बताइसकेका छन् ।