newskoseli.Com

नक्सा पास नभएका घरको नक्सा काठमाडौं महानगरले पास गरिदिने

 

नियम अनुरुप निर्माण भएका तर यसअघि नक्सा पास नभएका भवनका लागि काठमाडौं महानगरपालिकाले विशेष व्यवस्था ल्याएको छ । निर्माण भइसकेका तर नक्सा पास गर्ने प्रक्रियामा समेत नपुगेका निजी तथा सार्वजनिक र सरकारी भवनलाई नक्सा अनुरुप बनाउनका लागि यस किसिमको व्यवस्था ल्याइएको जानकारी कामपाले दिएको छ ।

कामपाका इन्जिनियर राम थापाका अनुसार कामपाका धेरै घर नक्सा पास गरेर निर्माण भएका छैनन्, यसरी निर्माण भएका घरमध्ये केही कामपाको नियम अनुरुप छन् तर नक्सा पास नभएको पाइएपछि कामपाले यस किसिमको व्यवस्था गरेको हो । थापाले भने– ‘नगरवासीका लागि यो एउटा मौका हो, यस मौकाको पनि सदुपयोग नगरे धेरै नगरवासीको घर नक्साविहीन हुन्छ र उक्त घरबाट लिनुपर्ने फाइदाबाट वञ्चित हुनुपर्नेछ ।’

नियम अनुरुप निर्माण भएका तथा नक्सा पास नभई निर्माण भएका घरधनीले अबको एक महिनासम्म घरको विवरणसहित कामपामा निवेदन पेस गर्नु पर्नेछ । नगरवासीको सेवालाई मध्यनजर गर्दै कामपाले केही दिनअघि विवरणसहित निवेदन पेस गर्नका लागि ३५ दिने सूचना जारी गरिसकेको छ ।

पेस गरिएको सूचनाका आधारमा कामपाका प्रतिनिधि सम्बन्धित घरधनीको घरमा पुगी नक्सा पासको प्रक्रियामा लगिनेछ । स्थानीय सरकार सञ्चालन ऐनमा नक्सा स्वीकृत नगरी बनेका नियम अनुरुपका र स्वीकृत नक्साभन्दा फरक किसिमले बनेका घरका लागि एक पटकका लागि विशेष व्यवस्था गरिनुपर्ने प्रावधान छ ।

पछिल्लो समय कामपामा नक्सा पास गर्न आउने नगरवासीको संख्यामा कमी आएको छ । अघिल्ला वर्षहरुमा दैनिक २० वटासम्म नक्सा पास गर्नका लागि निवेदन आउने गरेकामा अहिले दैनिक १० वटा मात्र आउने गरेका छन् । कामपाले नक्सा पास गर्नका लागि केही विशेष प्रावधान ल्याएको र क्रमिक रुपमा कामपाभित्र भवन निर्माण गर्ने जमिनको अभाव भएका कारण पनि नक्सा पास गर्न आउनेको संख्यामा कमी आएको कामपाको भनाइ छ ।

निर्माण सम्पन्न प्रमाणपत्रविना निर्माणाधीन भवनबाट कुनै पनि बैंकसम्बन्धित काम गर्न नपाइने भएको हुँदा पछिल्लो समय निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको संख्या भने दैनिक रुपले वृद्धि भएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर