newskoseli.Com

नेपाल प्रहरीसँग दोहोरो गोली हानाहान, भारतीय अपराधीको मृत्यु…

रौतहटमा नेपाल प्रहरीको गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । राजदेवी नगरपालिका– ४, गडहिया, डुमरिया नजिक बागमती नदीको बाँधमा बिहीबार राति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।

दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एक २५ वर्षीय भारतीय अपराधीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । प्रहरीको गोली लागेर घाइते भएका भारतीयलाई उपचारका लागि जिल्ला अस्पताल गौर लैजाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले बताए ।

घटनास्थलबाट प्रहरीले १ थान स्वचालित हतियार (एसएमजी), ४ थान गोली, म्यागजिन १ थान र पड्केको खोका समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिए । पछिलो केही दिनदेखि बागमती नदी किनारको भारतीय सीमानासँग जोडिएको क्षेत्रमा भारतीय अपराधीको चलखेल बढेको विशेष सूचनाका आधारमा बिहीबार राति जिल्ला प्रहरी कार्यालय गौरबाट सो ठाँउमा प्रहरीको विशेष टोली गएको थियो ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका ३ जना अपराधीलाई प्रहरीले चेक–जाँच गर्न खोज्दा पछाडि बसेका अपराधीले अचानक एसएमजीबाट फायर खोलेको प्रहरी निरीक्षक मनोज यादवले बताए । प्रहरीको जवाफी कारबाहीमा १ जना अपराधी हतियारसहित मोटरसाइकलबाट तल ढलेको र अन्य २ जना अपराधी बाँधको बाटो हुँदै भारततर्फ भागेको जानकारी यादवले गराए ।

घटनास्थल जिल्ला सदरमुकामबाट करिव ८ किलोमिटर पूर्वमा पर्दछ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर