newskoseli.Com

३ दिन देशभर वर्षा हुने : नदी क्षेत्रमा सतर्कता अपनाउन आग्रह, कुन नदीको अवस्था कस्तो ?

 

आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो । महाशाखाका अनुसार शनिबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि देशभर बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा तथा पश्चिमका केही स्थानमा वर्षा हुने जनाइएको छ । पूर्व र मध्यका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आइतबार दिउँसो र रातको दुवै समयमा देशभर सामान्यदेखि पूर्ण बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । असार १४ गते पनि देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनुको साथै एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार काठमाडौं उपत्यकासहित देशका अधिकांश भेगमा बदलीसहित वर्षा भइरहेको छ । काठमाडौंका कतिपय स्थानमा भारी वर्षा भएको छ । यद्यपि, दिनभरको वर्षाको विवरण मौसम पूर्वानुमान महाशाखाले साँझ राख्ने भएकाले अहिले देशका कुन क्षेत्रमा कति वर्षा भएको भनी रेकर्ड छैन ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौंमा ३ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । ताप्लेजुङ र ओखलढुङगामा ६, सिमरामा १६, पोखरामा २५, दाङमा १४, नेपालगञ्जमा ३४, धनगढीमा ११ र डडेलधुरामा ३० मिलिमिटर वर्षा भएको छ । काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव ५ र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह : कुन–कुन नदीको अवस्था कस्तो ?

निरन्तरको वर्षाले देशका प्रमुख नदीमा बाढीको सम्भावना रहेकाले नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले आगामी ३ दिनसम्मको ‘बाढी बुलेटिन’ सार्वजनिक गर्दै नदीमा बहाब खतरा भन्दामाथि रहन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

शनिबार देशका प्रमुख नदी कन्काई, कोशी, कमला, पश्चिम राप्ती, बबईलगायतमा जलसतह उल्लेख्य बढ्ने भएकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । कर्णाली, महाकाली र यसका शाखा नदीमा बहाब खतराभन्दा माथि रहने सम्भावना नरहे पनि आइतबार बिहानसम्म कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबईलगायतका नदीमा बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ ।

आइतबार बिहान प्रमुख नदीमा बहाब बढ्दो क्रममा हुने तथा कन्काई, कमला, बागमती, कोसी र यसका शाखा नदीमा बहाब उल्लेख्य बढ्ने तर खतराभन्दा तलै हुने तथा पूर्व र मध्य भागका चुरे र पहाडबाट बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना भने कायमै रहेको शाखाको पूर्वानुमान छ ।

शनिबार, आइतबार र सोमबार पूर्व र मध्य भागको चुरे र पहाडबाट बहने साना नदीमा बाढीको सम्भावना रहेको छ । पहिरो जान सक्ने स्थानमा पनि सतर्कता खपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर