नेपाली कांग्रेसको तर्फबाट मध्यपुरथिमि नगरपालिकामा विजयी भएका जनप्रतिनिधि विभाजित भई छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।
नगरपालिकाले हालै सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटको विषयलाई लिएर कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि विभाजित भएपछि बहुमत पक्षले नीति, कार्यक्रम तथा बजेटको बचाऊ गरेको छ भने अर्को पक्षले विरोध गरेको छ । कांग्रेसबाट निर्वाचित बहुमत जनप्रतिनिधिले कौशलटारमा पत्रकार सम्मेलन गरी पार्टीको सिद्धान्त, मूल्य–मान्यता र विधान अनुशरण गर्दै नगरको नीति, कार्यक्रम तथा बजेट निर्माण गरेको दाबी गरेका छन् ।
यस पक्षका तर्फबाट उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित वडा नं. २ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता राम थापामगर, वडा नं. ३ का अध्यक्ष प्रेम कुटु, वडा नं. ६ का अध्यक्ष इन्द्रबहादुर प्रजापति, वडा नं. ९ का अध्यक्ष रामकाजी चक्रधरसहित ९ जना नगरकार्यपालिका सदस्य तथा १५ नगर सदस्य गरी २९ जनादरा हस्ताक्षरित संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार सम्मेलनमा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटको समर्थन गर्दै जनताको पक्षमा बजेट तथा कार्यक्रम ल्याइएको बताइएको छ ।
पत्रकार सम्मेलनमा वडा नं. २ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता राम थापा मगरले सचेत नगरवासीमा भ्रम सिर्जना हुने गरी जनप्रतिनिधिको भत्ता र सुविधा बढाउन कर वृद्धि गरिएको भन्ने हल्लाको पछि नलाग्न आम नगरवासीलाई आह्वान गरे । आ.व. २०७५–७६ को बजेट, नीति तथा कार्यक्रममा केन्द्र तथा प्रदेश सरकारबाट निर्णय भएकोभन्दा कहीं–कतै पनि सेवा–सुविधा, लिने र दिने गरी कुनै निर्णय नभएको र वैज्ञानिक ढंगले कर निर्धारण गरे पनि कुनै पनि शीर्षकमा कर वृद्धि नगरिएको उनको भनाइ छ ।
थापा मगरले भने– ‘नगरपालिकाको विकासमा पार्टीले दिएको एजेन्डाभित्र बसेर काम गरेका छौं तर पार्टीले जनप्रतिनिधिको हात–खुट्टा बाँधेर यसो गर, त्यसो नगर भन्न मिल्दैन, जनताको पक्षमा काम गर्न पार्टीले हस्तक्षेप गर्नुहुँदैन ।’
पत्रकार सम्मेलनमा वडा नं. २ का अध्यक्ष प्रेम कुटुले आफूहरु जनताप्रति अत्यन्त संवेदनशील रहेको र प्रत्यक्ष जनसरोकार रहेको एकीकृत सम्पत्ति करका विषयमा पनि सबै पदाधिकारी सचेत रहेर काम गरेको बताए । उनले भने– ‘पार्टीको एजेन्डा बाहिर गएर हामीले कुनै काम गरेका छैनौं, पार्टीको एजेन्डा छाडेको प्रमाणित भए सामूहिक राजिनामा दिन तयार छौं ।’
कांग्रेसबाट निर्वाचित ३५ जना जनप्रतिनिधिमध्ये बाँकी ६ जनप्रतिनिधिले भने १ नं. वडा कार्यालयमा यसअघि नै छुट्टै पत्रकार सम्मेलन गरेर नगरपालिकाले ल्याएको नीति, कार्यक्रम तथा बजेटको विरोध गरेका थिए । नगरपालिकाले जनताको भावनाविपरीत जथाभावी करवृद्धि गरेर जनतालाई भार पारेकाले सार्वजनिक भएको बजेट तथा कार्यक्रममा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर आएको वडा नं. १ का वडा अध्यक्ष सुरज खड्काले बताए ।
यसको विरोधमा वडा कार्यालयले साउन १ देखि ‘पेन डाउन’ गरेर साउन ११ मा पुनः काम सञ्चालन गरे पनि नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट नसच्याएसम्म विरोध कायमै रहने र मंगलबार साँझ करवृद्धिका विरुद्ध बालकुमारीमा विरोधसभा गर्ने उनले बताए ।