जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझ ५ बजेदेखि कञ्चनपुरमा कर्फ्यु आदेश जारी गरेको छ ।
१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण झन्–झन् रहस्यमय बन्दै गएपछि केही दिनदेखि जारी आन्दोलन ‘उग्र बनेको’ भन्दै स्थानीय प्रशासनले बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा १६ (क) बमोजिम कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिएका छन् । भीमदत्त नगरपालिका वडा नं. १८ र वडा नं. ४ को बजार क्षेत्रभर कर्फ्यु जारी गरिएको हो ।
निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा जारी आन्दोलन झन्–झन् ‘उग्र’ बन्दै गएको छ ।