विद्यालयमा अध्ययनरत छात्रामाथि ‘दुर्व्यवहार’ गरेको आरोपमा बुटवलको एक निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल बुधबार पक्राउ परेका छन् ।
बुटवल उपमहानगरपालिका– ११, नहरपुरको ज्ञानपुञ्ज सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि ‘अभद्र व्यवहार’ गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमर थापाले जानकारी दिएका छन् । उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
‘विस्तृत अनुसन्धान गरेपछि मात्रै घटनाको वास्तविकताबारे सबै कुरा थाहा हुन्छ’– उनले भने । दुवै पक्षलाई वार्तामा ल्याउने तयारी भइरहेको जानकारी प्रहरी निरीक्षक थापाले दिए । छात्राले आफूमाथिको ‘दुर्व्यवहार’ बारे आफ्ना आमा–बाबुसँग बताएपछि स्थानीय वासिन्दाले बिहानैदेखि नाराबाजी र प्रदर्शन गरेका थिए ।
आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको प्रयास गरेपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि उक्त विद्यालय बन्द भएको सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।