newskoseli.Com

‘सवारी दुर्घटना कम गराउन’ ठाउँ–ठाउँमा सरकारी आरामस्थल !

चालक निदाएर सवारी साधन दुर्घटना भए भन्ने बेलाबखत प्रशस्तै सुनिन्छ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न लागेको छ ।

सवारी चालक र सहचालकले आरामदायी यात्रासहित यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने उद्देश्यका साथ सरकारले ७ प्रदेशका १४ स्थानमा यस्ता आरामस्थल स्थापना गर्न लागेको हो । केही स्थानमा भने आरामस्थलहरु सञ्चालनमा आइसकेका छन् । चालकको लापरबाही तथा थकानका कारण बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सरकारले चालक, सहचालक तथा यात्रुलाई आराम गर्नका लागि आरामस्थलहरुको स्थापना गर्न लागेको हो ।

मन्त्रालयका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जारी गरेको ८२ बुँदे गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुत तथा विश्वसनीय बनाउन जारी गरेको १० बुँदे प्राथमिकताका आधारमा ७ प्रदेशका १४ स्थानमा त्यस्ता आरामस्थल स्थापना गर्न लागिएको बताइएको छ ।

चालक थकानका कारण निधाएर दुर्घटना हुने क्रम बढेकाले एक छिन भए पनि आराम दिन सकिए दुर्घटनामा कमी आउने भन्दै त्यस्ता आरामस्थल स्थापना गर्न लागिएको बताउँछन् नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्री । आरामस्थलले दुर्घटना न्यूनीकरण गर्दै चालक, सहचालक तथा यात्रुलाई अनुशासन सिकाउने उनको भनाइ छ । आगामी दिनमा राजमार्गका प्रमुख स्थानमा यस्ता आरामस्थलहरु विस्तार गर्दै लैजाने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आरामस्थल स्थापना हुनु यातायात क्षेत्रमा राम्रो पहल भएको बताउँछन् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला । ‘आरामस्थल स्थापना गर्न धेरै पहिलेदेखि महासङ्घले उठाउँदै आएको माग अहिले पूरा हुन लागेको छ, आरामस्थलहरु स्थापना हुनु सराहनीय काम हो’– उनले भने ।

प्रदेश नं. २ का ३ स्थान, प्रदेश नं. ६ को १ स्थान र अरु ५ वटा प्रदेशका २–२ स्थानमा आरामस्थल स्थापना हुने भएका छन् । प्रदेश नं. १ मा सुनसरीको कोशी कटान र इलामको कटेनी सडकखण्ड, प्रदेश नं. २ मा बाराको पथलैया, धनुषाको लालगढ र सप्तरीको शम्भुनाथमा तथा प्रदेश– ३ मा सिन्धुलीको खुर्कोट र धादिङको मझिमटारमा आरामस्थल बनाइने भएका हुन् ।

प्रदेश नं. ४ मा नवलपरासीको कावासोती र तनहुँको दुलेगौंडामा, प्रदेश नं. ५ मा दाङको लमही र बर्दियाको बाँसगढी, प्रदेश नं. ६ मा सुर्खेतको छिन्चु र प्रदेश नं. ७ मा कैलालीको घोडाघोडी र डोटीको बुढरमा आरामस्थल बन्नेछन् । सरकारले प्रत्येक सेन्टर निर्माणका लागि असारमा नै ४ लाख ५० हजार रूपैयाँका दरले बजेट निकासा गरिसकेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार ६ स्थानमा आरामस्थल सञ्चालनमा आइसकेका छन् । सुनसरीको कोशी कटान, सिन्धुलीको खुर्कोट, नवलपरासीको कावासोती, दाङको लमही, सुर्खेतको छिन्चु र कैलालीको घोडाघोडीमा आराम स्थल सञ्चालनमा आइसकेका हुन् । ती आरामस्थलमा आवश्यकता अनुसार ट्राफिक र जनपद प्रहरी खटाइकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रदेश नं। १ मा भने आरामस्थलमा सीसी क्यामरा समेत जडान गरिसकिएको छ ।

आरामस्थलमा ट्राफिक पोस्ट, चालक, सहचालक तथा यात्रुलाई ट्राफिक जनचेतनासम्बन्धी जानकारी दिन कक्षाकोठा, खाना खाएर आराम गर्ने कोठा, पानीको धारा, चर्पीलगायतका सुविधा हुनेछन् ।

आरामस्थलमा यात्रु र चालक तथा सहचालकलाई जनचेतनामूलक कक्षा दिने, सवारी चेकजाँच, यात्रुको असुविधा सुन्नेलगायतका काम समेत हुने बताउँछन् प्रहरी प्रधान कार्यालय, ट्राफिक निर्देशनालयका प्रहरी उपरीक्षक जनक भट्टराई । उनका अनुसार प्रत्येक सार्वजनिक सवारी साधनका चालक, सहचालक र यात्रुलाई ५ देखि १५ मिनेटसम्म ट्राफिक जनचेतनासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन रहेका छन् । साँघुरो बाटो र धेरै सवारी साधन हुँदा अत्यधिक सवारी चाप र दुर्घटना हुने गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर