मकवानपुरका छुट्टाछुट्टै स्थानमा बिहीबार अपराह्न पानी र हावा–हुरीसँगै परेको चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
हेटौंडा उपमहानगरपालिका– १३, पदमपोखरीमा चट्याङ पर्दा ११ वर्षीय बालक रोजन लामाको मृत्यु भएको हो । उनी आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएका थिए । उपचारका क्रममा चुरेहिल अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी चट्याङ लागेर बकैया गाउँपालिका– ११, ठिँगनमा ३७ वर्षीय कृष्णलाल स्याङ्तान र हेटौंडा उपमहानगरपालिका– ७ की ४० वर्षीया सावित्री लुइँटेल घाइते भएका छन् । लुइँटेललाई खाना पकाउन लाग्दा चट्याङ लागेको थियो ।
स्याङ्तान र लुइँटेलको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको हेटौंडा अस्पताललाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी राससले जनाएको छ ।