गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाइ दिएसँगै छविलाल पौडेल सोमबार डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आइतबार अधिकारी हत्यासम्बन्धी मुद्दाका प्रतिवादीहरुलाई सफाइ दिनुका साथै पौडेललाई पनि रिहा गर्नू भनी डिल्लीबजार कारागारलाई निर्देशन दिएको थियो ।
रिहा भएपछि पौडेललाई कारागार परिसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं. १ का सांसद हरिराज अधिकारीले स्वागत गरे । पौडेल रिहा भएको खुसीयालीमा नेकपाका नेता–कार्यकर्ताले करागार परिसरबाट बाजागाजासहितको र्याली समेत निकाले ।
२०६१ जेठ २४ मा कृष्णप्रसाद मारिएका थिए । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको भनिएको छ । अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि छविलाललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो । सोही आदेशानुसार असार २४ मा पौडेल सर्वोच्च अदालतसमक्ष हाजिर भएपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।
कारागारबाट रिहा भएलगत्तै पौडेलले पत्रकारसमक्ष भने– ‘त्यस घटनामा तथ्य नबुझेरै ममाथि उजुरी दिएको थियो, उनीहरुलाई पछुतो नहोस् ।’ कृष्णप्रसादको हत्या भएको भनी किटानी जाहेरी दिने उनका दाजु अर्थात् ‘न्याय माग्न’ अनशनरत गंगामाया अधिकारीका जेठा छोरा नुरप्रसाद अधिकारी अदालतमा बयान दिनै नगएपछि चितवन जिल्ला अदालतले पौडेलसहित १२ आरोपीलाई आइतबार सफाइ दिएको हो । र, सफाइ पाएको भोलिपल्ट सोमबार पौडेल डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।