newskoseli.Com

महानगरपालिकाका शाखा अनेकतिर बग्रेल्ती : सेवाग्राहीलाई सास्ती !

घर निर्माण सम्पन्न भएको प्रमाणपत्र लिन कलङ्कीबाट आएका हरि उप्रेती सोझै भूकम्पअघि काठमाडौं महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा गए । उनलाई त्यहाँबाट ‘सुनधाराको हरिभवनमा जानोस्’ भनियो । उनी हरिभवन जाँदा त्यहाँ पनि काम हुने सुरसार देखिएन । ‘नक्शाको काम कहाँ हुन्छ’ भनी सोद्धा बबरमहल जानू भनियो । उप्रेती लागै त्यतैतर्फ ।

अर्का महानगरवासी कुमार कार्की पनि बालाजुबाट नक्शा पास गर्नका लागि आए । उनलाई पनि महानगरको सो विभाग अन्त सरेको विषयमा जानकारी थिएन । कार्कीले भने– ‘स्थानको अभाव भएपछि अन्यत्र सरे पनि कुनै सूचनामार्फत नागरिकलाई जानकारी दिनुपर्छ, अन्यथा नागरिले दुःख पाउनेछन् ।’

कार्की र उप्रेती त प्रतिनिधिपात्र मात्रै हुन् । फरक–फरक सेवा लिनका लागि सयौंको सङ्ख्यामा नागरिक हरेक दिन कामपामा आउँछन् । पहिले सेवा लिँँदै आएको स्थान अन्यत्र सरेको विषयमा जानकारी नहुँदा नागरिकहरु समस्या भोग्न बाध्य छन् ।

कामपामा अहिले १३ विभाग छन्, तिनका सेवा कार्यालय भने पाँच स्थानमा छन् । भूकम्पअघि सबै सेवा हरिभवनबाट प्रदान गर्दै आएको कामपाले भूकम्पका कारण विभिन्न स्थानमा छरिएर सेवा दिँदै आएको छ । कामपाका शाखा कार्यालय विभिन्न स्थानमा छरिएर रहँदा सेवाग्राहीलाई सास्ती भएको छ ।

भूकम्पलगत्तै राष्ट्रिय सभागृहबाट सेवा दिँदै आएको कामपाका केही विभाग सुनधारास्थित जेडीए कम्प्लेक्समा छन् । वातावरण विभाग टेकुमा, सार्वजनिक–निजी साझेदारी र सूचना प्रविधि महाशाखा बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा सरेका छन् । नक्शा र भौतिक पूर्वाधार महाशाखाले बबरमहलमै रहेको अर्को स्थान तत्कालीन कर कार्यालय रहेको भवनबाट सेवा दिँदै आएका छन् ।

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी सुनधारामा रहेको जेडीए कम्प्लेक्सबाट नै आफ्नो काम गरिरहेका छन् । विभागहरु अन्यत्र सरेकोबारे नागरिकलाई जानकारी नहुँदा नागरिकले समस्या भोग्नुका साथै समयको बर्बादी समेत व्यहोरिरहेका छन् ।

महानगरकी उपप्रमुख खड्गीका अनुसार यी सबै समस्या भूकम्पका कारण आइलागेका हुन् । त्यसअघि सबै सेवा एकै स्थानबाट दिई नै आए पनि नागरिकलाई परेको समस्याको समाधान खोज्न महानगर लागिरहेको उनी बताउँछिन् ।

भूकम्पअघि सेवा दिँदै आएको हरिभवनमा पनि भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको छ । त्यसलाई भत्काएर पुनर्निर्माण गरी सोही स्थानबाट नै नागरिकलाई सेवा दिने तयारी कामपाले गरिरहे पनि भत्काउनका लागि बोलपत्र आह्वान समेत हुन नसक्दा सर्वोच्च अदालतले गत बुधबार अन्तरिम आदेश जारी गरी तत्कालका लागि भत्काउने प्रक्रिया अघि नबढाउन र अहिलेकै अवस्थामा संरक्षण गर्न आदेश दिएको छ ।

कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार नागरिकलाई सास्ती दिने कामपाको उद्देश्य नभई कार्यालयका लागि भाडाको भवन खोज्ने क्रममा जहाँ–जहाँ प्राप्त हुन्छन्, त्यहीं लिइएको हो । ‘महानगरमा धेरै विभाग छन्, त्यसमा प्रमुख र उपप्रमुखको लागि पनि त छुट्टै स्थान चाहियो, विकल्प नभएर नै नागरिकले समस्या भोग्नुपरेको हो’– आचार्यले भने ।

टेकुमा रहेको वातावरण विभागले भूकम्पअघिदेखि नै नागरिकलाई सोही स्थानबाट सेवा दिँदै आए पनि अन्य विभाग भने भूकम्पपछि र केही त एक महिना अघि मात्र सुनधाराबाट अन्यत्र सरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर