दसैंका बेलाको एउटा मुख्य आकर्षण मानिने लिङ्गेपिङ देशैभर र विशेषतः काँठ क्षेत्रमा लोपोन्मूख अवस्थामा पुगेको छ ।
केही वर्ष अघिसम्म चोक–चोक र टोल–टोलमा देखिने लिङ्गेपिङ यस वर्षदेखि काठमाडौं उपत्यकामा देख्न समेत मुस्किल परेको छ । दसैं आयो भन्ने बित्तिकै जसको मनमा पनि पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लंगुरबुर्जाको प्रतिस्पर्धा नै हुने गर्दथ्यो । तर, अहिले धेरैले चाहेर पनि पिङ खेल्न नपाउने स्थिति देखापरकेो छ ।
दसैंको सुरुआतसँगै खेलिने पिङ यस वर्ष भने केही स्थानमा मात्र नगण्य रुपमा देख्न पाइन्छ । दसैंमा लिङ्गेपिङले दिने रौनक हराउँदै गएको छ । विशेष गरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि एकादेशको कथा बन्दै जान थालेकोमा पुराना पुस्ताको चिन्ता छ ।
एउटा जिल्लामा सयौंको सङ्ख्यामा देखिने यस्ता लिङ्गेपिङहरु यस वर्ष भक्तपुर सहर क्षेत्रमा देखिएका छैनन् । ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै पङि देखिएका छन् । वस्ती बाक्लिँदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बाबियाको डोरी समेतको अभाव भएकाले पिङको सङ्ख्या कम हुँदै गएको चाँगुनारायण नगरपालिका– ९ का ७२ वर्षीय रामेश्वर खत्री बताउँछन् ।
दसैंका बेला प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ अर्थात् खुट्टा हटाउनैपर्ने मान्यता अनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको उनको भनाइ छ । वर्षको एक पटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि अहिले पहिलाको जस्तो पिङ खेलेर दसैंमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ ।
सूर्यविनायक नगरपालिका– १, सिरुटारकी २६ वर्षीया अनुषा आचार्यले मन भए पनि पिङ नपाएको दुःखेसो पोख्दै तीन वर्षदेखि चाहना अधुरै रहेको बताइन् । विगतमा बाटो–बाटोमा पिङ भेटिने भएकाले मामाघर जाँदा र अन्य क्षेत्रमा जाँदा समेत पिङ खेल्न पाइने गरेको सम्झँदै अहिले भने कतै पिङ देख्न नपाएकाले खेल्न नपाएको उनी बताउँछिन् ।
युवापुस्ताका केही भने पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्त्व एवं आवश्यकता घट्दै गएको बताउँछन् । मध्यपुरथिमि– ३, कौशल्टारका मनिष गौतम पिङभन्दा पनि इन्टरनेटलगायतका विभिन्न गेम खेल्ने प्रचलन बढेकाले पिङको महत्त्व घट्दै गएको बताउँछन् । नयाँ पुस्ता दसैंमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँमा घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्त्व घट्दै गएको उनको भनाइ छ ।
पिङजस्तै दसैंमा मासु–चिउरा खाएर कौसीमा बसेर परिवारसँग रमाउँदै आकाशमा चङ्गा उडाउने परम्परा पनि लोप हुँदै जान थालेको छ । काँठ क्षेत्रमा विगत केही वर्षदेखि चङ्गा उडाउने परम्परा घट्दै गएको छ । यो वर्षदेखि केही बालबालिकामा मात्र सीमित बन्न पुगेको छ चङ्गा उडाउने परम्परा ।
एकातिर बस्ती बाक्लिँदै जानु र अर्कोतर्फ तास खेल्ने विकृति बढ्दै जानुले पनि चङ्गा उडाउने पुरानो परम्परा लोप हुँदै जान थालेको हो । दसैंको आगमन झल्कने गरी गाउँ तथा टोलमा खेलिने लंगुरबुर्जा तथा ओखर खेल्ने परम्परा करिव लोप भएको छ । यी दुईवटै खेललाई कानुनी रुपमा अवैधानिक बनाइएपछि यी खेलको परम्परा करिव लोप भएको हो ।
विशेषगरी पिङ खेल्ने परम्परा र चङ्गा उडाउने परम्परा लोपोन्मूख अवस्थामा पुगेकाले अहिले काँठ क्षेत्रमा दसैंको वास्तविक रौनकता हराउँदै जान थालेको छ । काँठ क्षेत्रमा दसैंको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवापुस्तामा दसैंका नाममा तास र मदिराको विकृति बढ्दै गएकाले सामान्यतः देशभर र विशेषातः काँठमा दसैं पर्व नै एकादेशको कथा बन्दै जान थालेको छ ।