newskoseli.Com

०४६ मा छिमेकीको हत्या गरी फरार कार्की २९ वर्षपछि कर्‍याप्प

जग्गासम्बन्धी विवादमा ०४६ मा छिमेकीको हत्या गरेर फरार भएका अभियुक्त २९ वर्षपछि पक्राउ परेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका– १, बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की बुधबार पक्राउ परेका हुन् । जग्गा विवादका क्रममा २०४६ मा स्थानीय ढकबहादुर कार्कीको हत्या गरेर फरार कार्कीलाई सुनसरीको रामधुनी नगरपालिका– ७ पञ्चायनबाट पक्राउ गरिएको हो ।

हत्याको घटनापछि भारत बस्दै आएका चन्द्रबहादुर दसैं मनाउन घर आएका बेला जिल्लाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । पक्राउ परेका कार्कीलाई अदालत खुले लगत्तै फैसला कार्यान्वयनका लागि पेस गर्नेगरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

कर्तव्य ज्यान मुद्दामा २०५७ जेठ १७ मा जिल्ला अदालत खोटाङबाट २० वर्ष कैद सजायको फैसला सुनाइएका कार्की भारतको नागाल्याण्ड, सिलोङ हुँदै मिजोरममा गाईफार्म चलाएर बस्दै आएका थिए । उक्त घटनामा चन्द्रबहादुरका साथै सोही ठाउँका केशव कार्की, नरबहादुर भुजेललगायत ४ जनामाथि स्थानीय ढकबहादुरको हत्या गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो ।

ढकबहादुरको हत्यामा संलग्न नरबहादुर र केशवले अदालतको फैसला अनुसार कैद भुक्तान गरिसकेका छन् । पक्राउ परेर हिरासतमा रहेका चन्द्रबहादुर र अर्का एक जना अभियुक्त भने हालसम्म फरार थिए । फरार एक अभियुक्त अझै पक्राउ पर्न बाँकी रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भेंडा चोरीका अभियुक्त पनि पक्राउ, ११ दिन कैद र १५ हजार जरिवाना !

यस्तै, भेंडा चोरी गरेको मुद्दामा सजाय सुनाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ४ खाल्लेका सन्तोष राई पनि पक्राउ परेका छन् ।

भेंडा चोरी मुद्दामा जिल्ला अदालत खोटाङबाट २०७४ भदौ ७ मा ११ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना भराउने फैसला सुनाइएका राईलाई उनको घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर