पुरानो चिन्तन भएका ‘धामी–झाँक्री’ का लागि गौमूल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रणमा पठाएको छ ।
धार्मिक तथा सांस्कृतिक धरोहरका रूपमा परिचित क्षेत्रको अध्ययन, अवलोकन र मनोक्रान्तिका अभियानकर्मी विकासानन्दको प्रवचन पाठ सुनाउनका निम्ति भ्रमण गराउन लागिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।
भ्रमण पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा गराइने भएको छ । सामाजिक सचेतना दिलाउन, मानसिक रूपमै सकारात्मक सोचको विकास गराउन र बाह्य संस्कृतिको विकासबारे जानकारी दिन भ्रमण गराउन लागिएको उपाध्यक्ष सीता थापाले बताइन् । भ्रमण कात्तिक १४ सम्म हुने छ ।
भ्रमण टोलीमा ६ वटा वडाका २–२ ‘धामी–झाँक्री’ तथा १–१ जनप्रतिनिधिसहित कर्मचारी सहभागी छन् । पहिलो चरणमा ४ महिला र १८ पुरुष गरी २२ जना भ्रमणमा सहभागी छन् । गौमूल गाउँपालिकाले यसअघि ‘मेमोरी किङ’ भनिने अर्पण शर्मालाई बोलाएर प्रशिक्षण सञ्चालन गरेको थियो ।
समाजमा रहेको छाउ कुप्रथा, बालविवाह, बहुविवाह र अन्धविश्वासपूर्ण धार्मिक तथा सांस्कृतिक आस्थालाई अन्त्य गर्नु पहिलो चुनौती भएकाले त्यसका लागि अवलोकन भ्रमणले सकारात्मक उपलब्धि हासिल हुने विश्वास गाउँपालिकाले लिएको छ । टोलीको पूरै भ्रमण खर्च गाउँपालिकाले नै व्यहोर्ने राससले जनाएको छ ।