newskoseli.Com

जब स्थानीयवासीले आ–आफ्नै घर भत्काइदिए…

सडक विस्तारका लागि धेरै ठाउँमा बल प्रयोग गरेर संरचना हटाउनु परेको अवस्थामा जलजला गाउँपालिका– ७, मिलनचोकका बासिन्दाले भने आ–आफ्ना घर आफैं भत्काएर सडक फराकिलो बनाएका छन् ।

मिलनचोकदेखि लेकफाँट र शालिजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र करिव ६० घर आंशिक रूपमा भत्काएर सडक फराकिलो बनाउन सहयोग गरिएको स्थानीयवासी रामकृष्ण आचार्यले बताए । साढे २ मिटर मात्र चौडाइ रहेको साँघुरो सडकलाई संरचना हटाएर ८ मिटरको फराकिलो बनाइएको छ ।

पहिले दुईतर्फबाट गाडी आउँदा जाम हुने सडक अहिले सहज रूपमा दुईतर्फी सवारी आवतजावत गर्न सक्ने र धुलो पनि नउड्ने भएको स्थानीयवासी बाबुराम कार्कीले बताए । सडक ढलान र नाली बनाउन ५–५ दिनका दरले श्रमदान समेत गरिएको उनले बताए । सडकको दुवैतर्फ नाली बनाइएको छ । ७० प्रतिशतभन्दा बढी काम सकिएको छ । सडक फराकिलो बनाइएपछि मिलनचोकको सुन्दरता नै फेरिएको छ ।

गाउँपालिकाले २० लाख रूपैयाँ विनियोजन गरेको २ सय मिटर लामो सडक ढलान गर्ने र नाली बनाउने योजना पूरा गर्न आर्थिक सङ्कलनको तयारी भएको स्थानीयवासी देवबहादुर पुनको भनाइ छ । उपभोक्ताले २ लाख ३७ हजार ७ सय ८० रूपैयाँ बराबरको श्रमदान गर्नुपर्ने लागत अनुमानमा उल्लेख छ ।

२०७५ असोज ५ मा सम्झौता भएको योजना उपभोक्ताको सहयोग र सक्रियताका कारण लक्ष्यअघि नै सकिने उपभोक्ता समितिका अध्यक्ष लालवीर पुनले बताए । २०७६ वैशाख १५ भित्र योजना सम्पन्न गर्ने सम्झौता गाउँपालिकासँग भएको छ ।

जनसहभागिता र समुदायको सहयोगका कारण मिलनचोकको सडक ढलान योजना नमूना र उदाहरणीय भएको वडाध्यक्ष टुङ्गनाथ शर्माले बताए । फराकिलो बनाउने तथा नाली र ढलान गर्ने काम सकिएपछि यो सडकलाई ‘न्युरोड’ नामकरण गर्ने मिलनचोकवासीको तयारी रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर