newskoseli.Com

तातोपानी कुण्डमा सीतालाई उपचार गराउन गृहमन्त्री दम्पतिसहित प्रचण्ड पुगे म्याग्दी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ म्याग्दी पुगेका छन् । तातोपानी कुण्डमा पत्नी सीताको प्राकृतिक उपचार गराउन अध्यक्ष दाहाल सोमबार त्यहाँ पुगेका हुन् ।

नसासम्बन्धी रोगबाट पीडित दाहालपत्नी सीतालाई बेनी नगरपालिका– ४ मा रहेको तातोपानी कुण्डमा उपचार गराउन लगिएको हो । दिउँसो हेलिकप्टरमार्फत अर्थुङ्गेस्थित नेपाली सेनाको गणमा अवतरण गराइएपछि सवारी साधनमार्फत बेनी हुँदै दाहाल दम्पती तातोपानी कुण्डमा पुगेका हुन् । सो टोलीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी पत्नी नैनकला, अध्यक्ष दाहालकी छोरी गङ्गालगायत सहभागी छन् ।

प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीर डुबाएर सीताको उपचार गराउन सुरु गरिएको छ । सीतालाई यसअघि सिङ्गापुर लगेर उपचार गरिएको थियो । तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि उनलाई त्यहाँ लगिएको प्रचण्डका निजी सचिव जोखबहादुर महराले जानकारी दिए ।

पहिलो दिन सीतासहितको टोलीले नै तातोपानी कुण्डभित्र करिव साढे १ घन्टा स्नान गरेको छ । उनलाई बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुग्दै स्नान गराएर उपचार गराइने व्यवस्था मिलाइएको छ ।

यसै सिलसिलामा अध्यक्ष प्रचण्डले स्थानीय कार्यकर्तासँग भेटघाट लगायतका कार्यक्रम समेत तय गरिएको नेकपाका नेता एवम् पूर्वसांसद गोविन्द पौडेलले जानकारी दिए । नेकपाका अध्यक्ष दाहाल र गृहमन्त्री थापाका परिवारका अन्य सदस्यहरु समेत सहभागी सो टोली तीन दिनसम्म म्याग्दीमै रहनेछ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका पदाधिकारीहरुले पूर्वप्रधानमन्त्री दाहाल, गृहमन्त्री थापासहितको टोलीलाई स्वागत गरे । नेकपाका नेताहरुले समेत बेनीस्थित होटलमा अध्यक्ष दाहाल र गृहमन्त्री थापालाई स्वागत गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर