तनहुँको साविक काहुँशिवपुर गाविसका पूर्वउपाध्यक्ष उडबहादुर आले मृत अवस्थामा फेला परेका छन् । एक हप्तादेखि बेपत्ता रहेका उनी बुधबार साँझ व्यास नगरपालिका– १३, बेनीकोटस्थित जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।
नेपाली कांङ्ग्रेसको रिसिङ गाउँपालिका– १, का सदस्य समेत रहेका ६६ वर्षीय आले मङ्सिर ५ देखि बेपत्ता भएपछि प्रहरी र आफन्तले खोजी गरे पनि फेला पर्न सकेका थिएनन् । स्थानीयवासीले साँझ जङ्गलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी, तनहुँको देवघाट गाउँपालिका– ४, सिन्च्याङ निवासी १८ वर्षीय तीर्थबहादुर भुजेल रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । घरदेखि ३ किमी दूरीमा रहेको जङ्गलमा उनी झुन्डिएको अवस्थामा फेला परेको र सो घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको राससले जनाएको छ ।