पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा मंगलबार बिहान उनको निधन भएको हो ।
कलेजोको क्यान्सरबाट पीडित भर्इ उपचार गराइरहेका पूर्वप्रधानमन्त्री गिरीको बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनकी श्रीमती सराह गिरीले जानकारी दिएकी छन् । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका गिरी पछिल्लो समय मुटु रोगबाट समेत पीडित थिए ।
विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा मन्त्री बनेर काम गरेका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्ष भएर समेत काम गरेका थिए ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि मंगलबार निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने उनकी श्रीमतीले जानकारी दिएकी छन् । डा. गिरीका श्रीमती, दुई छोरा र चार छोरी छन् । रासस