newskoseli.Com

प्रहरीले सुरु गर्‍यो ‘रातभरि थुन्ने अभियान’ ! राति १० बजेपछि विनाकाम हिँड्न नपाइने…

चोरीका घटना बढ्न थालेपछि प्रहरीले कोहलपुरमा ‘रातभरि थुन्ने अभियान’ सुरु गरेको छ । अत्यावश्यक कामबाहेक त्यत्तिकै राति १० बजेपछि हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

‘लागूपदार्थ प्रयोगकर्ता र लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौं,’ कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर बीसीले भने– ‘भोलिपल्ट फोटो खिँचेर आफन्तको जिम्मा लगाउँछौं ।’

यो अभियान चलाउँदा दैनिक ५–६ जना नियन्त्रणमा परिरहेको उनले बताए । राति पक्राउ परेकालाई प्रहरीले बिहान परिवारका सदस्य बोलाएर लामो कपाल काट्न लगाउने अनि फोटो खिँचेर पठाउने गरेको छ भने त्यही मान्छे फेरि फोकटमा राति हिँडेको फेला परे कारबाही गर्ने भएको छ ।

चोरी नियन्त्रण र विनाकाम राति हिँड्नेलाई नियन्त्रण गर्न प्रहरीले तीन टोली परिचालन गरेको छ, जसमा दुई ‘क्युआरटी’ छन् भने एउटा नियमित गस्ती टोली छ । जिल्लाको दोस्रो ठूलो सहर कोहलपुरमा लागूपदार्थ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको र चोरीका अधिकांश घटनामा लागूऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ ।

‘रातभरि राखेर बिहान छाडेपछि फेरि भेटिएमा कारबाही गर्ने चेतावनी दिएर छाड्ने गरेका छौं,’ प्रवक्ता बीसीले भने– ‘हामीले पुराना चोरीको अभियोग लागेका व्यक्ति पनि खोजी गरिरहेका छौं ।’ चोरीका घटना बढ्दै गएकाले स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोख्दै आएका थिए ।

प्रहरी कार्यालयकै आसपासमा चोरी हुन थालेपछि प्रहरीले यस्तो अभियान चलाएको जानकारी बीसीले दिए । राति हिँड्नेलाई थुन्ने अभियान थालिएपछि कतिपय व्यक्ति त ताला खोल्न प्रयोग गर्ने ‘सब्बल’ सहित नै पक्राउ पर्न थालेको प्रहरीले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर