राजधानीको गोकर्णेश्वर नगरपालिका– ४ स्थित भगवती उलन कारखानामा आगलागी हुँदा करिव २ करोड रूपैयाँभन्दा बढीको क्षति भएको छ ।
कारखानाको ऊन पेल्ने यन्त्रमा शुक्रबार विद्युत् प्रवाह भई आगलागी हुँदा जेनेरेटर, मेसिन, ऊन बनाउने कच्चा पदार्थ समेत जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले शनिबार जनाएको छ ।
त्यसैगरी, काठमाडौं महानगरपालिका– १३, ताहचल डेरा गरी बस्ने काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– ६ घर भएका ध्रुव दाहालको कोठामा शुक्रबार राति आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तनलगायतका सरसामान जलेर करिव ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
यता, धारिलो हतियार प्रहार गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका– ८, अत्तरखेल पीपलवस्ती बस्ने दोलखाका ३६ वर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । शेर्पाले सोही ठाउँमा बस्ने २८ वर्षीय निर्मल सुनुवारलाई शुक्रबार चक्कु प्रहार गर्दा घाइते भएका थिए । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीलाइ उद्धृत गर्दै राससले जनाएको छ ।