राजधानीस्थित तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिले घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
जनताका गुनासा तथा समस्या बुझ्न जनप्रतिनिधिहरु आफैं नै जनताको घरदैलोमा पुग्ने भएका हुन् । तारकेश्वर– ९ का वडाध्यक्ष बलराम सिटौलाका अनुसार नागरिकका समस्या सजिलै सम्बोधन गर्न सक्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो ।
घरदैलो कार्यक्रम माघदेखि सञ्चालन गरिने भएको छ । हरेक महिनाको अन्तिम शनिबार नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्ष सहितको टोली जनताको घरदैलोमा पुग्ने भएका छन् ।
यसरी जनप्रतिनिधि जनताको घरदलौसम्म पुग्ने भएपछि जनताले आफ्ना समस्या जनप्रतिनिधिसमक्ष सजिलै व्यक्त गर्न पाउने भएको राससले जनाएको छ ।