छोरी किरिया बस्नु हुँदैन भन्ने सामाजिक ‘मान्यता’ लाई तोड्दै दाङमा दुई छोरीले आमाको किरिया गरिरहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका– ११, जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बसेका छन् ।
छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने ‘मान्यता’ लाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली किरियामा बसेका हुन् । उनीहरुकी आमाको १५ गते सोमबार निधन भएको हो । किरिया गर्ने कोही नभएपछि छोरीहरूले नै दागबत्ती दिएका हुन्, किरिया पनि छोरीहरूले नै गरेका छन् ।
आमा ताराको मङ्गलबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको हो । जेठी छोरी आरधना देउखुरीको राप्ती प्राविधिक शिक्षालय, लालमटियामा छात्रवृत्ति कोटामा सीएमए पढ्दै छिन् । माइली सदीक्षा अमर मावि, उरहरीमा कक्षा ८ मा अनि कान्छी प्रतीक्षा दिव्यज्योति बोर्डिङ स्कुल, तुलसीपुरमा कक्षा ५ मा अध्ययनरत छन् ।
श्रीमान् हिरालाल विदेशबाट घर फर्केको १० दिनपछि दमका कारण ताराको निधन भएको हो । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफूहरू किरिया बसेको आरधनाले बताइन् । ‘छोरासरहको कर्म बुबा–आमाले हामी छोरीलाई पनि दिनुभएको छ,’ उनले भनिन्– ‘त्यसैले छोराहरूले गर्न सक्ने काम हामी छोरीहरूले पनि गर्न सक्छौं, सक्नुपर्छ भन्ने लागेर आमाको किरिया बसेका हौं ।’
समाजले काजकिरियाका लागि घरभन्दा बाहिरका दाजुभाइलाई ल्याउने तयारी गरेको भए पनि आफ्नो आमाको किरिया छोरीले नै गर्नुपर्छ भनेर किरिया बसेको उनको भनाइ छ । किरिया गर्दा उनीहरूले कपाल खौरने बाहेक अरु सबै कर्म गर्दै आएका छन् । तर, समाजमा भने छोरीहरू किरिया बस्ने चलनलाई अझै पनि अस्वाभाविक मानिँदै आएको खबर राससले सम्प्रेषित गरेको छ ।