बहुचर्चित ‘वाइडबडी विमान भ्रष्टाचार प्रकरण’ का मुख्य दोषी भनिएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि शुक्रबार दिउँसो उनको कार्यकक्षभित्रै कालोमोसो दलिएको खबर छ ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आबद्ध युवा संगठन ‘क्रान्तिकारी युवा लिग, नेपाल’ का कार्यकर्ताहरुले कंसाकारमाथि शुक्रबार दिउँसो उनकै कार्यकक्षमा कालोमोसो दलेर ‘कारबाही’ गरेको समाचार स्रोतले जनाएको छ ।
कंसाकारलाई ‘एक नम्बर भ्रष्टाचारी’ को आरोप लगाउँदै क्रान्तिकारी युवा लिगले कालोमोसो दलेको हो । नेपाल वायुसेवा निगमले हालै खरिद गरेर ल्याइसकेको एउटा विमान र ल्याउने प्रक्रियामा रहेको अर्को गरी दुई वटा वाइड बडी विमान खरिदका क्रममा बहालवाला मन्त्री, दुई पूर्वमन्त्री र नेपाल सरकारकारका केही बहालवाला सचिवहरुले झन्डै ५ अर्ब भ्रष्टाचार गरेको निष्कर्षसहित उनीहरुमाथि कारबाही गर्न संसदीय उपसमितिले सिफारिस गरेको छ ।
सोही प्रकरणमा मुख्य दोषी भनिएका कंसाकारलाई चेतावनीस्वरुप वैद्य माओवादीले कारबाही गरेको समाचार छ ।