राजधानीका माइक्रो बस चालकहरूको दादागिरी कायमै छ । यसै क्रममा सोमबार काठमाडौंको सामाखुसीमा सडक पार गर्दै गरेका बटुवालाई एक माइक्रो बसले ठक्कर दिँदा उनको मृत्यु भएको छ ।
कलंकीबाट बौद्ध हुँदै थलीतर्फ गैरहेको बा १ ज ९७६६ नम्बरको माइक्रो बस अनियन्त्रित तरवरले चलाउँदा सडक क्रस गरिरहेका ५ जनालाई ठक्कर दिएको हो । माइक्रो बसको ठक्करबाट ४ जना घाइते भएका छन् ।
घाइतेमध्ये गम्भीर अवस्थाका एक जनाको धापासीस्थित ग्राण्डी अस्पतालमा र अन्य तीन घाइतेको सामाखुसीमै रहेको ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा प्रमुख इन्स्पेक्टर मोहन केसीले जनाएका छन् ।
माइक्रो बसको ठक्करबाट राजधानीकै धुम्बाराहीकी सीता दाहालको मृत्यु भएको केसीले बताए । माइक्रो बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।