newskoseli.Com

१ करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत गायब !

जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी १ करोड ७१ लाख रुपैयाँ हिनामिना गरी फरार भएका छन् ।

कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ देखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखापरीक्षण (आलेप) का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए ।

गत आर्थिक वर्षको लेखापरीक्षण गर्दा उनको नाममा १ करोड ७१ लाख रुपैयाँ बेरुजु देखिएको थियो । दर्जीले जग्गा रजिस्ट्रेसनको रकम बैंकमा दाखिला नगरी आफैंले प्रयोग गरेका थिए । पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नु पर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखापरीक्षण प्रतिवेदनले देखाएको छ ।

मङ्सिर ६ मा आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीका नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो । पाँच पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए ।

मङ्सिर २० मा आन्तरिक लेखा परीक्षकले २४ घन्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर दर्जीले कार्यालयमा आएर सबै पैसा आफैंले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुन अनुसार जस्तोसुकै कारबाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए ।

सोही दिनदेखि दर्जी फरार छन् । पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ । दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ ।

भरतपुर महानगरपालिका– १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोबार समेत रोक्का गरिएको पौडेलले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर