नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख गर्दै रिट सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायललाई विपक्षी बनाइ पूर्वप्राज्ञ नगेन सिंह र राजविक्रम चन्दले संयुक्त रुपमा सोमबार दायर गरेको रिट निवेदनमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख छ ।
रिटमा कानुनले किटान गरेको विधि र प्रक्रिया बमोजिम अर्को प्रक्रिया अवलम्बन गर्न र सोही अनुसार सभा गठन गरी उपयुक्त व्यक्तिलाई नियुक्ति गर्न माग गरिएको छ । संविधानको मर्म र भावनाअनुसार समावेशी तरिकाले प्राज्ञ नियुक्ति गर्न समेत रिट निवेदनमा माग गरिएको छ ।
सरकारले प्रतिष्ठानमा पुस १५ मा कुलपति कान्छाकुमार कर्माचार्य, उपकुलपति तथा सचिवमा गोपाल चित्रकार र विपिन घिमिरेलाई नियुक्त गरेको थियो । त्यसैगरी, अन्य ६ सदस्यमा रमेश खनाल, मिथिलादेवी यादव, लालकाजी लामा, बुद्धि गुरुङ, धर्मराज शाक्य र सुष्मा राजभण्डारीलाई नियुक्त गरेको खबर राससले प्रेषित गरेको छ ।