त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी एक लाख घुस रकमसहित पक्राउ परेकी छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– १४ स्थित एनएमबी बैंकको पार्किङबाट पन्थीलाई मंगलबार नियन्त्रणमा लिइएको जानकारी अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले दिएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको एक स्कुलको हालसम्मको बाँकी कर तिर्न जाँदा राजस्व कम गराइदिने बहानामा सहायक रजिष्ट्रार पन्थीले सेवाग्राहीसँग घुस मागेकी थिइन् ।
सहायक रजिष्ट्रार पन्थीले सेवाग्राहीसँग लिएको १ लाख रूपैयाँ घुस रकम आफ्नी छोरी पोषण पन्थीलाई राख्न दिएको आयोगले जनाएको छ । अख्तियारले पन्थीकी छोरी पोषण पन्थीलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको अख्तियार दुरुपयोग अुनसन्धान आयोगले जनाएको छ ।