नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सञ्चार माध्यमहरुमा आएको ‘विप्लव–प्रकाण्ड द्वन्द्व’ को खण्डन गर्दै ‘भ्रामक र कपोलकल्पित समाचार नलेख्न’ सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई ‘चेतावनी’ दिएको छ ।
पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बीच ‘असमझदारी र द्वन्द्व’ बढेको भन्दै ‘भ्रामक र कपोलकल्पित समाचारको खेती गरिएको’ प्रति आपत्ति जनाउँदै ‘सञ्चार माध्यम र पत्रकारको आवरणमा क्रान्तिविरोधी हर्कत गर्ने दलालहरु’ लाई सो चेतावनी दिइएको उक्त पार्टीका एक नेताले जनाएका छन् ।
सञ्चार क्षेत्रबाटै ‘सुनियोजित रुपमा त्यस्ता सूचना उत्पादन र प्रवाह गर्ने श्रृंखला नरोकिएको’ भन्दै त्यस्ता पात्रहरुलाई जनतामा भ्रम पार्ने काम नगर्न ‘चेतावनी’ दिइएको बताइएको छ । एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशामा नेपाली क्रान्तिको लहर व्यापक बन्दै गएपछि दुश्मनलाई फाइदा पुग्ने गरी केही समाचार माध्यमले सुनियोजित रुपले झुटा समाचारको खेती गरिरहेको नेपाल कम्युनिस्ट पार्टीको दावी छ ।
अहिले उत्तरसाम्राज्यवाद र दलाल पुँजीवादले क्रान्तिलाई बद्नाम गराएर असफल तुल्याउन सूचना र सञ्चार क्षेत्रलाई अग्रपृष्ठमा राखेर गोयबल्स शैलीमा प्रयोग गरिरहेको आरोप उक्त पार्टीले लगाएको छ । सो पार्टीका कार्यालय सचिव ध्रुवले हालै एक साप्ताहिक र अनलाइनले आफ्नो पार्टीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएर खण्डन गरेका छन् ।
अर्को एक अनलाइनले ‘प्रकाण्डलाई विप्लवको प्रश्न– बाबुराम भट्टराईको सहयोग किन लिएको ?’ शीर्षकमा प्रकाशित गरेको समाचारको खण्डन गर्दै कार्यालय सचिव ध्रुवले भनेका छन्– ‘यी सबै समाचारहरू गलत हुन् । यसबारे कुनै सन्दर्भ नै उठेको छैन । मुख्य बनाएर प्रकाशित उक्त समाचारमा तीन जना केन्द्रीय सदस्यलाई निष्कासन गरिएको झुटो समाचार पनि दिइएको छ ।’
तीन जना केन्द्रीय सदस्यहरूमध्ये कोही स्वास्थ्यका कारण र कोहीले स्वयं तल्लो तहमा रहेर काम गर्न चाहेकाले उनीहरूकै मागअनुसार जिम्मेवारी हेरफेर गरिएको दावी नेता ध्रुवले गरेका छन् । ‘क्रान्तिकारीलाई बदनाम गराउन र प्रतिक्रियावादीहरूलाई सहयोग पुर्याउन कहिले पार्टीभित्र अन्तर्विरोध रहेको त कहिले के भनेर जनतामा भ्रम पार्ने काम नगर्न’ उनले सम्बन्धित पक्षलाई ‘सचेत तुल्याएका’ छन् ।