सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् ।
अध्यक्ष प्रचण्ड चिकित्सकको सल्लाह बमोजिम निवासमै आराम गरिरहेका छन् । चिकित्सकले उनलाई केही दिन कसैसित भेट नगर्न र सार्वजनिक कार्यक्रममा सहभागी नहुन सुझाव दिएको उनको स्वकीय सचिवालयले जनाएको छ ।
प्रचण्डपत्नी सीता र बुहारी, खानेपानी तथा सरसफाइमन्त्री बिना मगर पनि बिरामी छन् । मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) ले ग्रस्त उनीहरू ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल भर्ना भएर उपचाररत छन् ।
सीता आइतबार र बिना मंगलबार भर्ना भएको अस्पतालले जनाएको छ । दाहाल परिवारमा यतिबेला यी तीन जनाबाहेक कलिला नाति–नातिना समेत बिरामी भएको बताइएको छ ।